
पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा अचानक आएको हावाहुरी र पानीको तीव्र छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा अलपत्र परेका दुई भारतीय पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले सोमबार साँझ करिब ६ः१५ बजे उद्धार अभियान सञ्चालन गरेको हो।
फेवातालस्थित वाच एण्ड रेस्क्यु टावरमा ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको १० सदस्यीय टोलीले तत्काल घटनास्थल पुगेर डुब्ने जोखिममा परेका पर्यटकहरूको उद्धार गरेको थियो।
उद्धार गरिएका पर्यटकहरू भारतबाट नेपाल भ्रमणमा आएका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल रहेका छन्। दुवैलाई सुरक्षित रूपमा किनारमा ल्याइएपछि थप जोखिमबाट जोगाइएको थियो।
अचानक आएको खराब मौसमका कारण फेवातालमा दुर्घटनाको अवस्था सिर्जना भए पनि सशस्त्र प्रहरीको तीव्र र प्रभावकारी उद्धार कार्यका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको स्थानीयले बताएका छन्।
सशस्त्र प्रहरी बलले वर्षायाममा ताल तथा नदी क्षेत्रमा भ्रमण गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


