
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको मात्र होइन, विश्वकै उत्कृष्ट, समुन्नत र दिगो पर्यटकीय सहरका रूपमा विकास गर्ने महत्त्वाकांक्षी संकल्प सार्वजनिक गरेका छन्। बिहीबार सम्पन्न १५औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर आचार्यले पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको मार्गचित्र सार्वजनिक गरेका हुन्।
“हामीले चालेका कदमको प्रभाव पोखराले दशकौँसम्म महसुस गर्नेछ,” उनले भने, “पोखरालाई विश्वस्तरको पर्यटकीय राजधानीका रूपमा स्थापित गर्न सम्पूर्ण नगरवासीको साथ आवश्यक छ।”
फेवाताल संरक्षणलाई उच्च प्राथमिकता
पोखराको पहिचान मानिने फेवाताल संरक्षणलाई महानगरले मुख्य प्राथमिकतामा राखेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तालको सीमांकन गरी १ हजार ५ सय ५ वटा सीमा स्तम्भ गाडिएको जानकारी दिँदै मेयर आचार्यले ताल संरक्षणका थप योजनाहरू अघि बढाइएको बताए।
पछिल्लो सर्वेक्षणअनुसार फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम भएको छ। तालको मुहान क्षेत्रमा चेक ड्याम निर्माण, मध्यवर्ती क्षेत्र विकास तथा फिर्के खोलालाई हरित र जीवन्त सार्वजनिक कोरिडोरका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइने भएको छ।
‘डिजिटल पोखरा’ अभियान
महानगरलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘डिजिटल पोखरा’ अवधारणा लागू गरिने भएको छ। अब घरनक्सा पास, व्यक्तिगत घटना दर्ता, राजस्व भुक्तानी तथा योजना व्यवस्थापनलगायतका सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन हुनेछन्।
मेयर आचार्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पेपरलेस, फेसलेस र क्यासलेस सेवा प्रवाहलाई प्राथमिकता दिने घोषणा गरे।
२०४३ सम्म ९० प्रतिशत विद्युतीय सवारी
वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै महानगरले सन् २०४३ सम्म पोखरामा सञ्चालन हुने ९० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको छ।
‘नो प्लास्टिक पोखरा’ अभियानमार्फत एकपटक प्रयोग हुने प्लास्टिक पूर्ण रूपमा निषेध गरिनेछ भने फोहोर पानी प्रशोधन केन्द्र निर्माण र विद्युतीय तार भूमिगत गर्ने कार्यलाई समेत तीव्रता दिइने भएको छ।
एआई, रोबोटिक्स र स्वरोजगारमा जोड
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स तथा अटोमेसन विषयको अध्ययन सुरु गरिने भएको छ। ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई उद्यमशीलतासँग जोडिनेछ।
युवाहरूका लागि को–वर्किङ स्पेस र बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरिने तथा स्थानीय उत्पादनलाई ‘मेक इन पोखरा, मेड इन पोखरा’ ब्रान्डिङमार्फत बजार विस्तार गरिने योजना सार्वजनिक गरिएको छ।
‘आरोग्य सहर’ बनाउने लक्ष्य
स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्रत्येक स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरिने भएको छ। शिशुवा अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रिपोर्ट प्रणाली सञ्चालन गरिनेछ भने जटिल सुत्केरी र नवजात शिशु उपचारका लागि विशेष सेवा विस्तार गरिने भएको छ।
महानगरले स्वास्थ्य बीमा, विद्यालय नर्स कार्यक्रम, आयुर्वेद तथा योगलाई स्वास्थ्य सेवाको मूलधारमा समेट्ने नीति पनि अघि सारेको छ।
कृषि र पर्यटनबाट समृद्धिको अभियान
कृषि उत्पादन वृद्धि गर्न ५० प्रतिशत अनुदान, ‘घर फर्क अभियान’ तथा कृषि एम्बुलेन्स सेवाको निरन्तरता दिइने भएको छ।
पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई प्रभावकारी रूपमा सञ्चालन गरिने, ‘एक पर्यटक, एक मित्र’ अभियान सुरु गरिने तथा पृथ्वीचोकमा ‘पोखरा घर’ निर्माण गरी पर्यटक सूचना केन्द्र स्थापना गरिने योजना रहेको छ।
३३ विशेष अभियान घोषणा
महानगरले आगामी वर्षका लागि ‘मुस्कान सहितको पोखरा’, ‘१० मिनेट नागरिक योगदान’, ‘साप्ताहिक कार–फ्री सडक’ लगायत ३३ विशेष अभियान सार्वजनिक गरेको छ।
नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो।
मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आगामी वर्षको बजेट निर्माणको आधार बन्ने अपेक्षा गरिएको छ। “हामीले घोषणा गरेका योजनाहरू कागजमा सीमित रहने छैनन्, प्रभावकारी कार्यान्वयन नै हाम्रो मुख्य लक्ष्य हो,” उनले प्रतिबद्धता व्यक्त गरे।
