
काठमाडौं । विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ।
जारी विश्वकपको सह आयोजकसमेत रहेको अमेरिकाले सियाटल स्टेडियममा समूह ‘डी’ को खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गरी अन्तिम ३२ मा स्थान पक्का गरेको हो।
यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ। यसअघि शुक्रबार भएको खेलमा समूह ‘ए’ बाट सह-आयोजक मेक्सिको पनि नकआउट चरणमा पुगिसकेको छ।
अमेरिकाले ११ औँ मिनेटमा अस्ट्रेलियाविरुद्ध पहिलो गोल गर्दै अग्रता लिएको थियो। अस्ट्रेलियाका रक्षक क्यामरुन बुर्गेसले आत्मघाती गोल गर्दा अमेरिकाले खेलमा अग्रता बनायो।
त्यसैगरी अमेरिकाका एलेक्स फ्रिम्यानले खेलको ४३ औँ मिनेटमा हेडमार्फत् दोस्रो गोल गरे। यो गोलपछि खेलमा कुनै गोल हुन सकेन।
दोस्रो हाफमा अस्ट्रेलियाको प्रदर्शनमा केही सुधार भए पनि त्यो गोलको लागि प्रयाप्त भएन।
विश्वकपमा अमेरिकाले लगातार दुई खेल जितेको ९६ वर्षपछि यो पहिलो पटक हो। यसअघिको खेलमा अमेरिकाको अमेरिकाले पाराग्वेलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।
