पोखरामा लागूऔषधसहित एक महिला पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ४ बजे पोखरा महानगरपालिका-९, पृथ्वीचोक क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान तथा निगरानी गरेको थियो।

सो क्रममा रुपन्देही जिल्लाको मायादेवी नगरपालिका-१२ निवासी २१ वर्षीया जिनी रावललाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट डाइजेपाम २०० एम्पुल, फेनारगन २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध तथा दुई थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेकी रावलविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: