पोखरामा घरमा चोरी गर्ने र चोरीका सुन खरिद गर्ने दुई जना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले घरमा चोरी गरेको आरोपमा एक जना तथा चोरीका सुनका गरगहना खरिद गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चोरी तथा डाँका सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार असार २४ गते पोखरा महानगरपालिका-१५ मेरिगोल्डस्थित मनिसा थापाको घरमा उनकी नाबालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति ‘झ्यालढोका बनाउन नाप्न आएको’ भन्दै घरभित्र प्रवेश गरेका थिए।

त्यसपछि उनले कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी गरेको आरोप छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्राविधिक अनुसन्धानका आधारमा सर्लाही लालबन्दी नगरपालिका-१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ शिवनगर टोल बस्ने ३५ वर्षीय भुवनबहादुर साह शंकरको संलग्नता रहेको खुलाएको थियो।

त्यसपछि असार ४ गते प्रहरी प्रभाग काँडाघारी, काठमाडौंको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको कोठाबाट सुनजस्तो देखिने पहेँलो धातुले बनेका तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रालगायतका गरगहना तथा चाँदीजस्तो देखिने धातुबाट बनेका बाला, सिक्का र सिक्री बरामद गरेको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका साहले चोरी गरिएका सुनका बाला करिब ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको खुलाएका थिए।

सोही बयानका आधारमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका0७ मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: