एम्नेष्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह ५४ को २५औँ साधारण सभा सम्पन्न

Share:

पोखरा । एम्नेष्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह ५४ को २५औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। संस्थाका संस्थापक सदस्य कपिलनाथ कोइरालाले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गर्दै साधारण सभाको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि नेपालमा मानवअधिकारको विषयमा व्यापक बहस हुन थालेसँगै पोखरामा एम्नेष्टी इन्टरनेसनल स्थापना गरिएको स्मरण गरे।

मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि संगठित रूपमा काम गर्ने उद्देश्यले संस्था गठन गरिएको उल्लेख गर्दै उनले पछिल्ला वर्षहरूमा संस्थाको सक्रियता केही कमजोर भएको महसुस भएको बताए। उनले आगामी दिनमा संस्थाले मानवअधिकारको क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

साधारण सभाकी अध्यक्ष तथा संस्थाकी कार्यवाहक संयोजक अधिवक्ता मीनाकुमारी रानाभाटले आस्था, विचार वा विश्वासका आधारमा कसैमाथि विभेद हुनु नहुने मान्यताका साथ संस्था स्थापना भएको बताइन्। एम्नेष्टी इन्टरनेसनलको गरिमा र महत्वलाई सदस्यहरूले आत्मसात् गर्दै संस्थालाई थप सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

कार्यक्रममा संस्थाका पूर्वसंयोजक नविन बरालले समूहका गतिविधिबारे जानकारी गराएका थिए। संस्थाकी सल्लाहकार मञ्जु गौतम तथा नयाँ सदस्य गणेश कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव ज्योति हमालले गरेकी थिइन्। सोही अवसरमा संस्थामा आबद्ध भएका नयाँ सदस्यहरूलाई स्वागत समेत गरिएको थियो।

सन् १९६१ मा बेलायती कानुन व्यवसायी पिटर बेनेन्सनलगायतले स्थापना गरेको एम्नेष्टी इन्टरनेसनलले विचार वा आस्थाका आधारमा नागरिकमाथि हुने गैरकानुनी कारबाही, यातना तथा बन्दीकरणविरुद्ध आवाज उठाउँदै आएको छ।

अन्नपूर्ण समूह ५४ सोही अन्तर्राष्ट्रिय अभियानअन्तर्गत क्रियाशील एक स्थानीय समूह हो। हाल समूहमा ५६ जना सदस्य आबद्ध रहेको जनाइएको छ।

२४औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। गत वर्ष पन्थीको निधन भएपछि मीनाकुमारी रानाभाट कार्यवाहक संयोजकको जिम्मेवारीमा रहेकी छन्। यस अवधिमा समूहले विभिन्न मानवअधिकारसम्बन्धी कार्यक्रम तथा अभियान सञ्चालन गरेको जानकारी पनि साधारण सभामा दिइएको थियो।

साधारण सभाले आगामी वर्षका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव समेत पारित गरेको छ। एम्नेष्टी इन्टरनेसनल नेपालको केन्द्रीय समितिले आह्वान गर्ने कार्यक्रमहरूलाई सफल बनाउने, मानवअधिकार दिवस, अन्तर्राष्ट्रिय महिला दिवस तथा एम्नेष्टी स्थापना दिवसलगायतका अवसरमा नियमित कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।

साथै नयाँ सदस्यहरूका लागि अभिमुखीकरण तथा सबै सदस्यलाई मानवअधिकारसम्बन्धी प्रशिक्षण प्रदान गर्ने योजना बनाइएको छ। मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित निकायहरूसँग सहकार्यलाई समेत निरन्तरता दिइने सचिव ज्योति हमालले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्
Share: