
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार सोमबार उनको ललितपुरस्थित भैंसेपाटी निवासमा छापा मार्ने क्रममा उनले सेयर कारोबार गर्ने गरेको तथ्य फेला परेको दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले पौडेलको सम्पत्ति र आर्थिक कारोबारको स्रोतबारे अनुसन्धान अघि बढाइरहेको बताइएको छ।
स्रोतका अनुसार शंकास्पद आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख जयराज सापकोटाका अनुसार पौडेललाई सुर्खेतस्थित शुभ होटलबाट पक्राउ गरिएको हो। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका थिए।
प्रहरीले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको पुष्टि गरेको छ। पक्राउसँगै पौडेलमाथि भइरहेको अनुसन्धानले राष्ट्रिय राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ।
