प्रारम्भिक बालशिक्षा सुधारमा प्रदेश सरकारको प्रतिबद्धता, व्यावहारिक पाठ्यक्रममा जोड

Share:

पोखरा । पोखरामा जारी प्रारम्भिक बाल विकास सम्बन्धी प्रादेशिक सम्मेलनमा प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधारका लागि तीनै तहका सरकार, पाठ्यक्रम निर्माता, विज्ञ र विद्यालयबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

सम्मेलनको प्यानल छलफलमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख प्रकाश देवकोटाले सङ्घीय संरचनाअनुसार बालशिक्षाको प्रत्यक्ष जिम्मेवारी स्थानीय तहको भए पनि प्रदेश सरकारले नीतिगत समन्वय, शिक्षक तालिम र मापदण्ड निर्माणमार्फत सहयोग गरिरहेको बताए ।

उनले गण्डकी प्रदेशका बाल विकास केन्द्रहरूको अवस्था सुधार गर्न, बाल शिक्षकहरूको मनोबल उच्च बनाउन तथा स्थानीय तहसँग सहकार्य गर्दै नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै शिक्षामा सुधार प्रारम्भिक बाल विकासबाटै सुरु हुनुपर्नेमा मन्त्रालय स्पष्ट रहेको उल्लेख गरे।

त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेले केन्द्रले बालबालिकाको उमेर र आवश्यकता अनुसार खेल, कला तथा स्थानीय स्रोत–सामग्रीमा आधारित एकीकृत पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए । उनले अबको मुख्य चुनौती उक्त पाठ्यक्रमलाई स्थानीय भाषा, संस्कृति र परिवेशअनुसार प्रभावकारी रूपमा कक्षाकोठामा कार्यान्वयन गर्नु रहेको बताए।

प्रारम्भिक बालशिक्षामा अक्षर र अङ्क सिकाउन हतार गर्नुभन्दा बालबालिकाको सामाजिक, संवेगात्मक तथा शारीरिक विकासलाई प्राथमिकता दिनुपर्नेमा पाठ्यक्रम केन्द्रित रहेको र शिक्षकहरूले पनि सोहीअनुसार व्यवहार गर्नुपर्ने उनको भनाइ थियो।

प्यानल छलफलको समापन गर्दै सहजकर्ता एलिना सुब्बाले प्रारम्भिक बाल विकासका चुनौती समाधान गर्न तीनै तहका सरकार, पाठ्यक्रम निर्माता, शिक्षाविद् र विद्यालयहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउन ढिलाइ गर्न नहुने बताउनुभयो। सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी करिब साढे तीन सय शिक्षक तथा सरोकारवालाहरूले छलफललाई अत्यन्त सान्दर्भिक र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्।

कुमुदिनी होम्सका शिक्षक सुरेन्द्र सदिच्छाका अनुसार सम्मेलनको दोस्रो दिन सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी कार्ययोजना निर्माण, विषयगत छलफल तथा विविध प्रस्तुति सञ्चालन गरिनेछ।

पहिलो दिनको कार्यक्रमको समापनमा रातो बङ्गला फाउन्डेसनकी साझेदार कार्यक्रम संयोजक अर्चना जोशीले सबै सहभागीप्रति आभार व्यक्त गरे।

२०५९ सालमा ललितपुरमा दर्ता भएको रातो बङ्गला फाउन्डेसनले लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण तथा कक्षाकोठा व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

संस्थाले सन् २००३ मा राष्ट्रिय तथा २०१३, २०१९ र २०२४ मा अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ, जसमा करिब दुई हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्को सहभागिता रहेको थियो।

साथै, गत वर्ष बागमती प्रदेशको हेटौँडामा पहिलो प्रादेशिक सम्मेलन सम्पन्न गरेको फाउन्डेसनले यसपटक पनि प्रारम्भिक बालशिक्षा सुधारका लागि नीति, अभ्यास र सहकार्यलाई केन्द्रमा राख्दै सम्मेलन आयोजना गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: