पोखरामा रोजगार मेला : एउटै थलोमा जागिरदाता र रोजगार खोज्नेको प्रत्यक्ष भेट

Share:

पोखरा । रोजगार खोज्ने युवा र दक्ष जनशक्तिको खोजीमा रहेका प्रतिष्ठित कम्पनीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित पोखरामा असार १९ गते रोजगार मेला (जब फेयर) आयोजना हुने भएको छ।

पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको संयुक्त आयोजनामा, पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बुलौंदीस्थित इभेन्ट सेन्टरमा मेला हुन लागेको हो। आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष भेटघाट गराई तत्काल रोजगारीको अवसर सिर्जना गर्नु हो।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा रोजगार मेला संयोजक दिनेशचन्द्र बास्तोलाले मेलामा सहभागी हुने रोजगार खोज्नेहरूले आफ्नो व्यक्तिगत विवरण (सीभी) बुझाउन सक्ने र रोजगारदाताले आवश्यक जनशक्तिबारे जानकारी दिई अन्तर्वार्तासमेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

उनका अनुसार मेलामा नेपालका विभिन्न प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनेछ। लक्ष्मी समूह, भाटभटेनी सुपरमार्केट, गोर्खा ब्रुअरी, वर्ल्डलिङ्क कम्युनिकेसन्स, आइएमई खल्ती, इसेवा, नेपाल मणिपाल टिचिङ अस्पताल, मुक्तिनाथ विकास बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, क्युएफएक्स, फुडमाण्डु, बन्दीपुर केबलकार, मारुती सिमेन्टलगायत ४० भन्दा बढी कम्पनीले मेलामा रोजगारीका अवसर सार्वजनिक गर्नेछन्।

आयोजकका अनुसार विभिन्न क्षेत्रका कम्पनीले प्रशासन, बिक्री तथा बजार व्यवस्थापन, बैंकिङ तथा वित्त, आतिथ्य, सूचना प्रविधि, स्वास्थ्य, उत्पादनलगायत विविध क्षेत्रमा आवश्यक जनशक्तिको खोजी गर्नेछन्।

रोजगारको खोजीमा रहेका युवाका लागि यो मेला प्रत्यक्ष रूपमा कम्पनीसँग भेट्ने, आफ्नो योग्यता प्रस्तुत गर्ने र तत्कालै रोजगारीको अवसर प्राप्त गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको आयोजकको विश्वास छ।

कमेन्ट गर्नुहोस्
Share: