
पोखरा । पोखरा-२८ बिमिरापानीलाई मूल थलो मान्ने आत्रीय गोत्रका पौडेल बन्धुहरूले परम्पराअनुसार यस वर्षको कुलपूजा श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न गरेका छन्। देशका विभिन्न जिल्लाबाट आएका पौडेल बन्धु-बान्धवहरूको उल्लेखनीय सहभागितामा कुलपूजा सम्पन्न भएको हो।
पोखरा-२८ कालिमाटे डिहीस्थित कुलदेवता मन्दिरमा आयोजित कार्यक्रममा सहभागीहरूले वैदिक विधिअनुसार पूजा-आराधना गर्दै कुल परम्पराको संरक्षण र आपसी एकताको सन्देश दिएका थिए।
पौडेल कुल मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले समितिको हालसम्मको आय–व्यय विवरण सार्वजनिक गर्नुका साथै मन्दिरको संरक्षण, पूर्वाधार विस्तार र भावी योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा कुलदेवता मन्दिर परिसरमा ट्रस निर्माण गर्ने सुशील पौडेल, मन्दिर विस्तारका लागि जग्गा उपलब्ध गराउने खेमराज पौडेल, सावित्री पौडेल, कृष्णप्रसाद पौडेल, रामजीप्रसाद पौडेल र बद्रीप्रसाद पौडेल, मन्दिरका लागि आवश्यक भाँडाकुँडा सहयोग गर्ने रुद्रप्रसाद पौडेल तथा आर्थिक सहयोग पुर्याउने विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो।
मनोहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा समितिका सल्लाहकार नवराज पौडेल र राधामोहन पौडेल, कोषाध्यक्ष सूर्यराज पौडेल, सदस्य खेमराज पौडेल, राधिका पौडेललगायतले कुल परम्परा, सामाजिक एकता र भावी पुस्तालाई सांस्कृतिक पहिचान हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको कुलपूजाले देश-विदेशमा रहेका आत्रीय गोत्रका पौडेल बन्धुबीच आपसी सद्भाव, पारिवारिक सम्बन्ध र सांस्कृतिक एकतालाई थप मजबुत बनाउँदै आएको सहभागीहरूले बताएका छन्।

