षोडश संस्कार र चाडपर्व सार्वजनिक, सनातन संस्कार संरक्षणमा जोड

Share:

पोखरा। मानव जीवनका १६ संस्कार र नेपाली समाजका प्रमुख चाडपर्वलाई समेटिएको ‘षोडश संस्कार र चाडपर्व’ पुस्तकको पोखरामा एक समारोहबीच विमोचन गरिएको छ। धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाद्वारा लिखित पुस्तकको विमोचन केदारेश्वर वैदिक गुरुकुलका पिठाधीश डा. चित्घन चैतन्य महाराजले गरेका हुन्।

पुस्तक सार्वजनिक गर्दै पिठाधीश चैतन्यले सनातन वैदिक धर्मावलम्बीहरूले वेदको मार्गअनुसार जीवनयापन गर्नुपर्नेमा जोड दिए। वेद नै वैदिक धर्मको मूल आधार भएको उल्लेख गर्दै उनले संस्कार र सदाचार मानव जीवनका अभिन्न पक्ष रहेको बताए। उनले जन्मदेखि मृत्युसम्मका संस्कारलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको यो पुस्तक समाजका लागि उपयोगी रहेको उल्लेख गरे।

उनले पछिल्लो समय संस्कारसम्बन्धी धेरै पुस्तक प्रकाशित भए पनि समाजमा संस्कार र आचरण कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्दै पुस्तकका लेखक स्वयं संस्कार र आचरणको उदाहरण बनेको बताए। साथै, आगामी पुस्तासम्म यस्ता मूल्य-मान्यता हस्तान्तरण हुनु नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो।

कार्यक्रममा बाल्मिकी क्याम्पसका सहप्राध्यापक विश्वनाथ दवाडीले पुस्तकको समीक्षा गर्दै मानव जीवनका महत्वपूर्ण १६ संस्कारलाई सरल र सहज भाषामा प्रस्तुत गरिएको बताए।

गृहसूत्रमा ५६ संस्कारको वर्णन भए पनि व्यवहारिक रूपमा १६ संस्कारको विशेष महत्व रहेको उल्लेख गर्दै उनले हिन्दु सनातन परम्परालाई शास्त्रीय आधारसहित व्याख्या गरिएको बताए। उनका अनुसार पुस्तक धार्मिक, नैतिक, बौद्धिक तथा संस्कारमूलक जीवनका लागि सान्दर्भिक र उपयोगी छ।

लेखक गंगाधर तिमिल्सिनाले पुस्तकले मानव जीवनलाई उत्कृष्ट र अनुशासित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पुस्तकमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, चूडाकर्म, वेदारम्भलगायत १६ संस्कारका साथै नेपाली समाजमा मनाइने प्रमुख चाडपर्वबारे समेटिएको उनले जानकारी दिए।

पञ्चासे प्रज्ञामञ्चको संयोजनमा आयोजित कार्यक्रममा मञ्चका उपाध्यक्ष नारायणप्रसाद गौतमले तिमिल्सिनाका अन्य कृतिहरू पनि लेखन सम्पन्न भइसकेकाले छिट्टै प्रकाशन गरिने जानकारी दिए।

पुस्तक प्रकाशनका विषयमा वैकुण्ठ तिमिल्सिनाले संस्कारसम्बन्धी ज्ञानलाई सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले पुस्तक प्रकाशित गरिएको बताए।

८५ पृष्ठको पुस्तकमा मानव जीवनका १६ संस्कार र प्रमुख चाडपर्वको महत्वलाई सरल, व्यवहारिक तथा शास्त्रीय आधारमा प्रस्तुत गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: