प्रदेश सरकारका ठूला सडक आयोजना अनुगमनमा जिसस कास्की, गुणस्तरमा सम्झौता नगर्न चेतावनी

Share:

पोखरा। जिल्ला समन्वय समिति (जिसस) कास्कीले गण्डकी प्रदेश सरकारअन्तर्गत कास्कीमा निर्माणाधीन बहुवर्षीय सडक आयोजनाहरूको स्थलगत अनुगमन गर्दै गुणस्तर, समयसीमा र पारदर्शितामा विशेष ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा भएको अनुगमन टोलीले पोखरा-३३ स्थित तल्लो खैरेनी-घोक्रेनी-शिवबस्ती हुँदै गाईगौंडासम्मको बहुवर्षीय सडक आयोजना तथा पोखरा-३१ स्थित करिब २५ करोड रुपैयाँ लागतको सात ताल जोड्ने स्याङ्खुदी भञ्ज्याङ लिंक रोडको स्थलगत निरीक्षण गरेको हो। तल्लो खैरेनी-गाईगौंडा सडक आयोजनाको लागत अनुमान करिब ५ करोड रुपैयाँ रहेको छ।

अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माण कार्यमा गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले विकास निर्माणमा हुने अनियमितताप्रति ‘शून्य सहनशीलता’ को नीति अपनाइने स्पष्ट पार्दै स्थानीय उपभोक्ता, जनप्रतिनिधि र सरोकारवालालाई पनि प्रभावकारी निगरानीमा सक्रिय हुन आग्रह गरे।

निर्माण कार्यमा तोकिएको समयसीमा र गुणस्तर दुवैमा केही कमजोरी देखिएको उल्लेख गर्दै उनले निर्माण व्यवसायीलाई तत्काल सुधार गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति सदस्य सीतादेवी विक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

जिल्ला समन्वय समितिले विकास आयोजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: