‘कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता सम्भव छैन’

Share:

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता सम्भव नरहेको बताएका छन्।

उनले अहिलेको प्राथमिकता पार्टी एकीकरणभन्दा पनि आफ्नै संगठनलाई सुदृढ बनाउनु रहेको स्पष्ट पारे। बुधबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै सार्वजनिक रूपमा कम्युनिस्ट एकता सम्भव नरहेको अभिव्यक्ति दिएकाले तत्काल एकताको अपेक्षा नगर्न आग्रह गरे।

“अहिले कम्युनिस्ट पार्टीहरूको बीचमा एकता गर्न सम्भव छैन भनेर केपी शर्मा ओलीजीले नै भन्नुभएको छ। त्यसैले तत्काल एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ,” उनले भने।

नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सबैभन्दा पहिले आफ्नै पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिए। पार्टी संगठन बलियो भएपछि मात्रै अन्य शक्तिहरूको ध्यान आकर्षित हुने र एकताका लागि वातावरण बन्ने उनको भनाइ थियो।

उनले नेता तथा कार्यकर्तालाई पार्टीको विचार र सिद्धान्त लिएर जनतामाझ जान आग्रह गर्दै नेकपामाथि ‘सिद्धान्तविहीन’ भएको भ्रम फैलाउने प्रयास भइरहेको बताए।

“हामी मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी विचारबाट विचलित हुनु हुँदैन,” उनले भने, “यसका लागि केन्द्रदेखि प्रदेश र जिल्लासम्म प्रशिक्षण अभियान सञ्चालन गर्न आवश्यक छ।”

सहसंयोजक नेपालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। नेता तथा कार्यकर्ताको रुचि, क्षमता र अनुभवका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने परम्परा पुनः अवलम्बन गर्नुपर्ने उनको सुझाव थियो।

“पहिले हामी कार्यकर्तालाई फारम भराएर उनीहरूको रुचिअनुसार जिम्मेवारी दिने अभ्यास गर्थ्यौँ। सकेसम्म पहिलो, नभए दोस्रो वा तेस्रो रोजाइअनुसार जिम्मेवारी दिँदा गुनासो कम हुन्थ्यो। अब पनि त्यस्तो अभ्यास पुनः सुरु गर्नुपर्छ,” उनले भने।

नेपालले संगठन विस्तार, वैचारिक स्पष्टता र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सके मात्रै पार्टीले जनविश्वास हासिल गर्ने र भविष्यमा कम्युनिस्ट आन्दोलन थप सशक्त बन्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: