पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन, सञ्चार क्षेत्र शोकमा

Share:

पोखरा। पोखराका अग्रज पत्रकार, शिक्षाविद् तथा राजनीतिक व्यक्तित्व केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ। उनले मंगलबार राति करिब १२ बजे पोखरा-३, नदीपुरस्थित आफ्नै निवासमा अन्तिम सास फेरे।

स्वर्गीय पराजुलीको अन्त्येष्टि बुधबार बिहान सेती नदी किनारको तुलसीघाटमा गरिएको छ। उनका एक छोरा लोकरञ्जन ‘रमेश’ पराजुलीसहित चार छोरी छन्।

पराजुली पोखराको पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वका रूपमा परिचित थिए। उनी ‘जनमत दैनिक’ का संस्थापक सम्पादक हुन्। उनले लामो समयसम्म विभिन्न पत्रपत्रिकामार्फत खोजमूलक लेख, समसामयिक विश्लेषण र साहित्यिक रचनाहरू प्रकाशित गर्दै पत्रकारितालाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याए। उनका विभिन्न कृतिहरू पनि प्रकाशित छन्।

पत्रकारितासँगै शिक्षा क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान रहेको थियो। लामो समय शिक्षण पेसामा आबद्ध रहँदै उनले हजारौं विद्यार्थीलाई शिक्षा प्रदान गरेका थिए। साथै, नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गरेका पराजुली सामाजिक तथा बौद्धिक क्षेत्रका सम्मानित व्यक्तित्व मानिन्थे।

पोखराको विकास, शिक्षा र सञ्चार क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई ‘पोखरेली नवरत्न’ सम्मानबाट समेत सम्मानित गरिएको थियो।

पराजुलीको निधनसँगै पोखराको सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रले एक अनुभवी, निष्ठावान् र प्रेरणादायी व्यक्तित्व गुमाएको छ। सामाजिक सञ्जालमा पत्रकार, राजनीतिकर्मी, शिक्षाविद् तथा शुभेच्छुकहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: