
पोखरा । युवा उद्यमशीलता, सशक्तीकरण, सीप विकास तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ।
नगर युवा परिषद्को आयोजनामा सम्पन्न यूथ फेस्टिभल २०८३ को अवसरमा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरे ।
यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन क्षेत्रमा प्रतीक पहारी, समाज सेवामा सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नव ज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी तथा अपाङ्गता अधिकार र सशक्तीकरणमा सक्रिय सन्ध्या सुवेदी सम्मानित भएका हुन् ।
नगर युवा परिषद्ले युवा लक्षित सीप विकास, उद्यमशीलता, रोजगारी तथा सशक्तीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।
परिषद्का अनुसार हालसम्म ७ हजारभन्दा बढी युवालाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका कार्यक्रममा आबद्ध गराइएको छ।
कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार प्रा.डा. भिमनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले सम्मानका लागि नाम सिफारिस गरेको हो।
समितिमा तेज गुरुङ, मनोहर कडरिया, केशव शरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य सदस्य रहेका थिए ।
महानगरले यो सम्मानमार्फत समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय युवाहरूको योगदानको कदर गर्दै अन्य युवालाई पनि सिर्जनशील, उद्यमशील र जिम्मेवार नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।
