पोखरामा १ सय ४९ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, ६ जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले तीन दिनको अवधिमा सञ्चालन गरेको छुट्टाछुट्टै अपरेशनमा ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा करिब १ सय ४९ ग्रामभन्दा बढी ब्राउन सुगर, ६ लाख ७ हजार रुपैयाँ नगद, दुई थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार १७ गते साँझ पोखरा महानगरपालिका–१० उत्तमचोक क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले कारबाही गरेको थियो।

उक्त क्रममा पोखरा-१० निवासी ३७ वर्षीय गोविन्द थापा (जोन) र उनका दाइ ३८ वर्षीय रुमबहादुर थापाको घरमा खानतलासी गर्दा प्लास्टिकसहित १३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ तथा स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ नगद बरामद भएपछि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही दिन अपराह्न पोखरा-१५ पेन्सन क्याम्प क्षेत्रमा गरिएको अर्को कारबाहीमा २९ वर्षीय सुमन गुरुङ (ज्ञाने) लाई पक्राउ गरिएको छ। उनको साथबाट ०.३७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, दुई थान डिजिटल तराजु र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै असार १८ गते बिहान पोखरा–३२ मजुवा स्थित पृथ्वीराजमार्गमा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा प्रहरीले चेकजाँच गर्दा यात्रुहरूले सिटको झ्यालको पर्दाभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३४ ग्राम (प्लास्टिकबाहेक ३१.०७ ग्राम) ब्राउन सुगर फेला पारेको थियो।

उक्त घटनामा स्याङ्जाको आँधीखोला गाउँपालिका-२ निवासी ३२ वर्षीय विनोद क्षेत्री र फेदीखोला गाउँपालिका-५ निवासी २६ वर्षीय रेशम क्षेत्री पक्राउ परेका छन्।

त्यसैगरी सोही दिन बिहान ८:१० बजे मजुवा क्षेत्रमा नै काकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.००१ ख ००३२ नम्बरको सार्वजनिक बसमा गरिएको चेकजाँचका क्रममा बाँकेको कोहलपुर नगरपालिका-१४ निवासी ३१ वर्षीय सुरज सुनार बसेको सिटमुनि लुकाएर ल्याएको प्लास्टिकसहित १०५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई पनि पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री-वितरण तथा सेवनविरुद्ध अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: