पोखराको रोजगार मेलामा युवाको उत्साह: ५ हजारभन्दा बढीको भीड, १८ सयले अनलाइनबाट दिए आवेदन

Share:

पोखरा । पोखरामा शुक्रबार आयोजित ‘पोखरा जब फेयर-२०२६’ मा रोजगारीको खोजीमा रहेका युवायुवतीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालिको आयोजनामा सम्पन्न मेलामा करिब ५ हजारभन्दा बढी युवायुवतीले विभिन्न कम्पनीका स्टलमा पुगेर रोजगारीका अवसरबारे जानकारी लिए भने १८ सय जनाले अनलाइनमार्फत आवेदन दिएका छन्।

पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार मेलामा ५१ वटा प्रतिष्ठित कम्पनी सहभागी भएका थिए। कति जनाले अन्तिम रूपमा रोजगारी सुनिश्चित गरे भन्ने विवरण केही दिनपछि सार्वजनिक गरिने उनले बताए।

मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले दक्ष, सीपयुक्त र स्वरोजगारमुखी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताए। आवश्यक परे बीउपूँजीसमेत उपलब्ध गराउने नीति अघि बढाइए पनि अपेक्षाअनुसार स्थानीय युवाको सहभागिता नबढेको उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले युवाहरूले जागिर खोज्नुसँगै उद्यमशीलतामा पनि अग्रसर हुनुपर्ने धारणा राखे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हरेक वर्ष श्रम बजारमा आउने करिब ५ लाख युवालाई देशमै अवसर सिर्जना गरेर रोक्नु राज्यको प्रमुख चुनौती भएको बताए।

उनले रेमिट्यान्सले मात्र देश समृद्ध नहुने उल्लेख गर्दै उत्पादन, उद्योग र व्यवसाय विस्तारमार्फत युवालाई स्वदेशमै भविष्य देखाउनुपर्नेमा जोड दिए।

उनले विश्वविद्यालयहरूले केवल प्रमाणपत्रधारी जागिर खोज्ने जनशक्ति नभई उद्योग–व्यवसाय गर्ने साहसी र सिर्जनशील युवा उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।

संघका उद्योग उपाध्यक्ष तथा मेला संयोजक दिनेशचन्द्र बास्तोलाका अनुसार मेलामा सहभागीहरूले आफ्नो व्यक्तिगत विवरण (सीभी) बुझाउने, अन्तर्वार्ता दिने तथा रोजगारदातासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए।

मेलामा लक्ष्मी समूह, भाटभटेनी सुपरमार्केट, गोर्खा ब्रुअरी, वर्ल्डलिङ्क, आईएमई खल्ती, इसेवा, नेपाल मणिपाल टिचिङ अस्पताल, मुक्तिनाथ विकास बैंक, क्युएफएक्स, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, टेम्पल ट्री होटल एन्ड स्पा, बन्दीपुर केवलकार, मारुती सिमेन्ट लगायतका ५१ प्रतिष्ठित कम्पनी सहभागी थिए।

आयोजकका अनुसार रोजगार मेलाले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै स्थानीय श्रम बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

कमेन्ट गर्नुहोस्
Share: