पोखरामै मुटुको जटिल उपचार नहुँदा बिरामी काठमाडौं धाउन बाध्य, ‘हार्ट सेन्टर’ विस्तारको माग

Share:

पोखरा । गण्डकी प्रदेशमा मुटुरोगको विशिष्टीकृत उपचार सेवा अझै अपुग हुँदा बिरामीले उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कायम रहेको भन्दै सरोकारवालाले उपचार सेवाको तत्काल विकास र विस्तार गर्न जोड दिएका छन्।

‘गण्डकी हार्ट मिट-२०२६’ मा सहभागी चिकित्सक, जनप्रतिनिधि, नीति निर्माता र स्वास्थ्यकर्मीले मुटु तथा रक्तनलीसम्बन्धी रोग नेपालमा अकाल मृत्युका प्रमुख कारणमध्ये एक भएकाले गण्डकीमै अत्याधुनिक उपचार सेवा उपलब्ध गराउन ढिलाइ गर्न नहुने निष्कर्ष निकाले।

कार्यक्रममा पत्रकार यदुनाथ बञ्जराले आफूलाई मुटुमा समस्या देखिएपछि पोखरामा उपचार सम्भव नभएर हेलिकोप्टरमार्फत काठमाडौं लैजानुपरेको अनुभव सुनाए।

हेलिकोप्टर भाडामै ४ लाख २० हजार रुपैयाँ र काठमाडौं बसाइ तथा उपचारमा करिब २० लाख रुपैयाँ खर्च भएको उनले बताए। पोखरामै सेवा उपलब्ध भएको भए ठूलो आर्थिक भारबाट बच्न सकिने उनको भनाइ थियो।

यस्तै, गत वर्ष सिक्लेस भ्रमणका क्रममा हृदयाघात भएका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराई ले समयमै विशेषज्ञ उपचार नपाउँदा ज्यान गुमाउनुपरेको घटनालाई पनि कार्यक्रममा उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो।

हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, सांसद, पोखरा महानगर प्रमुख, चिकित्सक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिले प्रदेशमा मुटुरोग उपचार सेवाको वर्तमान अवस्था, चुनौती र भविष्यका योजनाबारे छलफल गरेका थिए।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले मुटु तथा रक्तनलीसम्बन्धी रोग नेपालमा बिरामीपन, अशक्तता र अकाल मृत्युको प्रमुख कारण बनेको उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवामा जोड दिए।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमै विशिष्टीकृत मुटुरोग उपचार केन्द्र स्थापना गर्ने दिशामा प्रदेश सरकारले काम गरिरहेको बताए।

कार्यक्रमपछि जारी गरिएको दुईबुँदे साझा प्रतिबद्धता मा मुटुरोगलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा स्वीकार गर्दै यसको रोकथाम, प्रारम्भिक निदान, उपचार, प्रभावकारी रेफरल प्रणाली तथा उपचार सेवाको विस्तारमा सबै पक्ष मिलेर काम गर्ने प्रतिबद्धता जनाइएको छ।

हाल गण्डकी प्रदेशका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पताल मा क्याथ ल्याबसहित मुटुरोग उपचार सेवा उपलब्ध भए पनि ओपन हार्ट सर्जरीलगायत सम्पूर्ण विशिष्टीकृत सेवा र स्थायी कार्डियाक सर्जनको अभाव कायमै छ। यही कारण जटिल बिरामी अझै पनि काठमाडौं रेफर हुनुपर्ने बाध्यता रहेको सरोकारवालाले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: