ओझेलका ‘इँमान्छे’को इतिहास उजागर गर्दै विन्दा पाण्डे

Share:

पोखरा । लेखक तथा अभियन्ता डा. विन्दा पाण्डेका कृतिमाथि शनिबार पोखरामा आयोजित परिचर्चामा नेपाली राजनीतिक आन्दोलनमा महिलाको योगदान, उनीहरूको त्याग र इतिहासमा परेको उपेक्षाबारे गम्भीर बहस भएको छ।

र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको कार्यक्रममा पाण्डेका विभिन्न पुस्तक, विशेषगरी आन्दोलन र राजनीतिक संघर्षका क्रममा अग्रपङ्क्तिमा रहेर पनि इतिहासमा ओझेलमा परेका ‘इँमान्छे’हरूको भूमिकामाथि चर्चा केन्द्रित रह्यो।

कार्यक्रममा बोल्दै पाण्डेले महिलालाई ‘आधा आकाश’ को सपना देखाइए पनि वास्तविक अधिकारबाट वञ्चित गरिएको बताइन्। उनले अब महिलाले ‘आधा धर्ती’ मा पनि समान हिस्सेदारी खोज्नुपर्ने समय आएको उल्लेख गरिन्।

“आधा आकाश भनियो, तर महिलाको जीवन बदल्ने अधिकार र अवसर दिइएन,” उनले भनिन्। २०३० सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहेको अनुभव सुनाउँदै उनले २०४७ सालको संविधान निर्माण प्रक्रियामा महिलाका अधिकार पर्याप्त रूपमा सुनिश्चित हुन नसकेको टिप्पणी गरिन्। महिलालाई सम्पत्तिमा अधिकार दिन समाज भाँडिन्छ भन्ने सोचकै कारण उनीहरू लामो समय विभेदमा परेको उनको भनाइ थियो।

परिचर्चामा स्ट्रगल रानाले ‘नेपाली राजनीतिमा महिला : इँमान्छेदेखि व्यक्तित्वसम्म’ शीर्षकको अवधारणा पत्र प्रस्तुत गर्दै पाण्डेको कृतिले राजनीतिक आन्दोलनका ओझेलमा परेका पात्रहरूको जीवन र योगदानलाई उजागर गरेको बताए। उनले झापा विद्रोहदेखि बहुदलीय आन्दोलनसम्म आम नागरिक र महिलाले गरेको त्यागको स्मरण गराए।

पाण्डेले भूमिगत आन्दोलनका क्रममा नेताहरूलाई आश्रय, सुरक्षा र सहयोग गर्ने बालकुमारी दराई, विष्णुमाया सुवेदी लगायतका महिलाको योगदानको चर्चा गर्दै त्यस्ता पात्रहरूको इतिहास लेखिन बाँकी रहेको बताइन्।

उनले विगतका क्रान्तिकारी नेताहरू अहिले विलासी जीवनतर्फ उन्मुख भएको आरोपसमेत लगाइन्। आन्दोलनका बेला सामान्य नागरिकले गरेको त्यागको सम्मान हुन नसकेको भन्दै उनले इतिहास लेखनमा यस्ता पात्रलाई स्थान दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा ढाकामोहन बराल, हसिना बस्नेत, धीरज परियार, गीता तिवारी, विष्णुप्रसाद बास्तोला, कृष्ण केसी, समीप बैरागीलगायतले पुस्तकमाथि टिप्पणी राखेका थिए। सहभागीहरूले इतिहासमा नसमेटिएका पात्रहरूलाई प्रकाशमा ल्याउने पाण्डेको प्रयासको प्रशंसा गरेका थिए।

सोसाइटीका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ध्रुव केसीले गरेका थिए। सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार यस्ता बौद्धिक बहस तथा पुस्तक परिचर्चा आयोजना गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: