सप्तकोसीमा राति बाढी उर्लिएपछि खोलियो २१ ढोका

Share:

काठमाडौं । सप्तकोसीमा पानीको बहाब बढेपछि बुधबार राति २१ ढोका खोलिएका छन् । बुधबार राति अबेर कोसी ब्यारेजमा पानीको बहाब एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाब थप बढ्न सक्ने अनुमान छ । प्रहरीका अनुसार कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएका छन् ।

ब्यारेजका ५२ वटा मूल ढोका र चारवटा नहर गरी ५६ वटा ढोका छन् । पानीको बहाब एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झन्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ।

असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ।सप्तकोसीमा पनि बहाब बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ।

सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ।

 

कमेन्ट गर्नुहोस्
Share: