भिटोफ गण्डकीको नेतृत्वमा रमेश अर्याल, पत्रकार वासुदेव पौडेल सम्मानित

Share:

पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको पाँचौं अधिवेशन तथा एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा तथा सह-कोषाध्यक्षमा शरण गुरुङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासमार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताइन्।

उनले स्थानीय स्रोत, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विस्तारमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष शोभा सापकोटाले “हरेक गाउँ पर्यटकीय गाउँ” भन्ने नारासहित संस्थाले गण्डकी प्रदेशका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन र विकासमा निरन्तर काम गरिरहेको जानकारी दिइन्।

भिटोफका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँ र शहरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै गाउँ पर्यटनले समग्र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बोर्ड र भिटोफबीचको सहकार्यमा गाउँ पर्यटन मार्टसहित पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, संस्थाका सल्लाहकार तथा बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, होमस्टे समिति पोखराका प्रतिनिधिहरू, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र पहारी तथा रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललगायतले गाउँ पर्यटनको महत्व, सम्भावना र दिगो विकासका विषयमा धारणा राखेका थिए।

यसै अवसरमा पत्रकारितामार्फत गाउँ पर्यटनको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै संस्थाका आजीवन सदस्यहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै गण्डकी प्रदेशमा गाउँ पर्यटनको प्रवर्द्धन, ग्रामीण गन्तव्यको ब्रान्डिङ तथा पर्यटनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: