
पोखरा। मानव बेचबिखन तथा ओसारपोसारजस्ता जघन्य अपराध नियन्त्रणका लागि समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा पोखरामा आयोजित सचेतना कार्यक्रममा सहभागीहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना तथा रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह, पोखरा-१७ को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो।
कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङले नेपाल प्रहरी जनताको भरोसाको संस्था भएको उल्लेख गर्दै सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद पनि नागरिकको सुरक्षा र शान्ति-सुव्यवस्था कायम गर्न प्रहरी निरन्तर खटिएको बताए।
अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकाले नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।
पोखरा महानगरपालिका-१७ का वडाध्यक्ष राधिका शाही योगीले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याइन्।
उनले घर भाडामा बस्ने व्यक्तिको विवरण व्यवस्थित रूपमा राख्ने, छिमेकीप्रति चासो राख्ने र सामुदायिक निगरानीलाई प्रभावकारी बनाउने कार्यले अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार तथा अग्रज पत्रकार हरि बास्तोलाले पछिल्लो समय मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा सेवन र चोरीका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीको सक्रियता थप प्रभावकारी हुनुपर्ने बताए।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले मानव बेचबिखनका जोखिम, त्यसको रोकथाम तथा समुदायको भूमिकाबारे प्रशिक्षण दिएका थिए। उनले अपराध न्यूनीकरणका लागि प्रहरी र समाजबीचको साझेदारी बलियो हुनुपर्नेमा जोड दिए।
सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीका अध्यक्ष भीम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष मंगल नेपाली, उपाध्यक्ष विष्णु सुवेदी, महासचिव घनश्याम तिमिल्सिना तथा शुभकामना आमा समूहकी अध्यक्ष पार्वती खड्का लगायतका वक्ताहरूले मानव बेचबिखनविरुद्ध सबै तह र तप्काको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै सभ्य, सुरक्षित र अपराधमुक्त समाज निर्माणमा निरन्तर लाग्नुपर्नेमा जोड दिएका थिए।
