लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

Share:

पोखरा । क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० जना खेलाडीलाई बेल्ट वितरण गरिएको छ। भण्डारढिक रङ्गशालामा आयोजित कार्यक्रममा विभिन्न तह पार गरेका खेलाडीलाई उनीहरूको सीप र उपलब्धिको आधारमा नयाँ बेल्ट प्रदान गरिएको हो।

बेल्ट वितरण कार्यक्रममा २८ जनाले एलो बेल्ट, १२ जनाले ओरेन्ज बेल्ट, १२ जनाले ग्रीन बेल्ट, १० जनाले ब्राउन बेल्ट र ८ जनाले ब्लु बेल्ट प्राप्त गरेका छन्। प्रशिक्षकका अनुसार बेल्ट वितरणले खेलाडीको प्राविधिक क्षमता, अनुशासन र निरन्तर अभ्यासको मूल्यांकन गर्दै स्तरोन्नति गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा सफल उद्योगी एवं कर्माचार्य ग्रुपका सञ्चालक, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, आत्मविश्वास र असल चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता गतिविधिले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, क्योकुशिन कान कराँते कास्कीका जिल्ला अध्यक्ष तथा ब्रान्च चिफ लक्ष्मण कुँवर, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, डोजोका सल्लाहकार टुका पुन, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ तथा अभिभावक दिनेश शर्मा लगायतले खेलाडीलाई बेल्ट वितरण गरेका थिए।

क्योकुशिन कान कराँते लेखनाथ डोजोका प्रमुख शुभास खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: