
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियार जस्तो देखिने सामग्रीसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार हिजो (साउन ९ गते) अपराह्न करिब ४:३० बजे माछापुच्छ्रे गाउँपालिका-१ टुसेस्थित सुरेश परियारको घरमा अवैध घरेलु हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
सो क्रममा उक्त घरमा डेरा गरी बस्दै आएका म्याग्दी मंगला गाउँपालिका-१ स्थायी घर भई हाल पोखरा महानगरपालिका-१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा मकालु गाउँपालिका-३ घर भई हाल माछापुच्छ्रे गाउँपालिका-१ घाचोक बस्ने २२ वर्षीय सुदिप विश्वकर्माको कोठाबाट काठ र फलामबाट बनेको ट्रिगरसहित दुई वटा घिर्नी तथा तार जडान गरिएको अवैध घरेलु हतियार जस्तो देखिने यन्त्र बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री पलङ पछाडि बोराभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
