साउन १ गतेपछिको मात्रै विद्युत् खपतमा भ्याट लागू

329
0
Share:

काठमाडौं । गत असार मसान्तसम्म खपत भएको बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले यस विषयमा सोमबार स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचनाका आधारमा प्राधिकरणले यस्तो जानकारी दिएको हो।

ग्राहकले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रुपमा राखिनेछ। उक्त रकम आगामी भदौ महिनाको बिलमा मिलान गर्ने प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिल निकाल्ने गर्छ। असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा कर लाग्ने वा नलाग्ने भन्नेमा द्विविधा देखिएको थियो। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई पठाएको थियो।

त्यसरी बिल आएपछि उपभोक्ताले गुनासो गरेका थिए। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले यसमा चासो राखे। उनले समस्या समाधानका लागि पहल गरे। प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई स्पष्ट पारिदिन पत्राचार गरेको थियो।

आन्तरिक राजस्व कार्यालयले सोमबार सूचनामार्फत असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने प्रष्ट पारेको छ। विभागले साउन १ गतेदेखि मात्र विद्युत् खपतमा भ्याट आकर्षित हुने जनाएको छ।

अबदेखि न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट लाग्नेछ। आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ। मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लाग्नेछ। अन्यको हकमा भने १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ।

प्राधिकरणले लिने शुल्क विद्युत् सेवाकै अंग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट लाग्ने विभागले बताएको छ। प्राधिकरणले साउनमा भुक्तानी भइसकेको कर रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक व्यवस्था मिलाएको छ।

यसअघि असारको खपतमा समेत कर जोडिएर आएपछि उपभोक्ता मारमा परेका थिए। सरकारी निकायको यो पछिल्लो स्पष्टोक्तिले उपभोक्ताको अन्योल हटेको छ। प्राधिकरणले यसअघि नै कर बुझाइसकेका ग्राहकलाई चिन्ता नलिन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: