
पोखरा। पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै भाषा, साहित्य, कला, संगीत र संस्कृतिका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई जिम्मेवारी सुम्पिएको छ।
महानगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्रज्ञा परिषद् सदस्य तथा प्रज्ञा सभा सदस्यलाई नियुक्ति तथा मनोनयन गरेका हुन्।
नवनियुक्त टोलीमा भाषा तथा साहित्यकी स्रष्टा सरस्वती लालचन ‘प्रतीक्षा’ कुलपतिमा नियुक्त भएकी छन् भने कला तथा साहित्यका तिलक पुर्जा पुन मगर उपकुलपति बनेका छन्। लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल सदस्य सचिव नियुक्त भएका छन्।
यस्तै, प्रज्ञा परिषद् सदस्यमा नृत्यबाट श्रीजंग गुरुङ, फाइन आर्टबाट हरेराम जोजेजु, संगीत तथा वाद्यवादनबाट दिलीप गायक र रंगमञ्च तथा अभिनयबाट प्रमिला ताम्राकार तुलाचन चयन भएका छन्।
महानगरले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन-२०८२) अनुसार विभिन्न विधाबाट १० जनालाई प्रज्ञा सभा सदस्यमा समेत मनोनयन गरेको छ।
साहित्य, संस्कृति, नृत्य, फाइन आर्ट, संगीत, इतिहास तथा लोककलाका प्रतिनिधित्व गर्ने स्रष्टाहरूलाई समेट्दै प्रतिष्ठानलाई थप सक्रिय र समावेशी बनाउने लक्ष्य राखिएको महानगरले जनाएको छ।
कार्यक्रममा मेयर धनराज आचार्यले प्रतिष्ठानका लागि व्यवस्थित कार्यालय, आवश्यक कानुनी आधार तथा पर्याप्त बजेटको व्यवस्था गरिएको जानकारी दिँदै अब प्रतिष्ठानले सिर्जनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
उपमेयर मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले पोखराको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै महानगरको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन्।
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमुना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताइन्।
