कप्तानगञ्ज घटना: आफन्तले बुझे शव, आजै अन्त्यष्टि

Share:

सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएकाहरूको शव परिवारले बुझेका छन्। दिउँसो २ बजे दाहसंस्कारका लागि लग्ने सरकारसँग सहमति भए पनि उनीहरूले शव बुझेका थिएनन्। गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगञ्ज–३ कप्तानगञ्ज घटनामा मृत्यु भएका दुई युवाको शव बुझ्न आफन्तले अस्वीकार गरेपछि सुनसरी प्रहरीले परिवारका सदस्यसँग भेट गरेर शव बुझ्ने वातावरण बनाएको हो।

गृहमन्त्री गुरुङसँग सहमति भए पनि शव बुझ्न विराटनगर आएका आफन्त सहमति कार्यान्वयनको सुनिश्चितता नभएको भन्दै फर्किएपछि पोष्टमार्टमसमेत हुन सकेको थिएन।

त्यसपछि सुनसरी प्रहरीको टोली मृतकको घरमै पुगेर शव बु्झ्ने वातावरण बनाएको थियो। आफन्तले शव बुझेपछि कोसी अस्पतालमा पोष्टमार्टम गरेर आजै अन्तेष्टि गर्न शवलाई लगिएको छ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले आफन्तले शव बुझेर पोस्टमार्टमपछि अन्तेष्टि गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा भएको विवादका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो। यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।

दुवै मृतकको शव अहिले पोष्टमार्टमका सकेर कोसी अस्पतालबाट सुनसरी पठाइएको मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: