
पोखरा। पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली सार्वजनिक गर्ने मिति पुनः सारेको छ। दाबी-विरोधमा परेका निवेदनमाथि अध्ययन तथा विवरण अध्यावधिकको काम नसकिएकाले अब अन्तिम नामावली साउन २२ गते प्रकाशित गरिने भएको हो।
महानगरपालिकाले यसअघि साउन १८ गते अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो। तर प्रारम्भिक नामावलीमाथि परेका १४६ वटा दाबी-विरोधका निवेदन अध्ययनकै क्रममा रहेकाले समय थप गरिएको महानगरले जनाएको छ।
महानगरपालिकाद्वारा जारी सूचनामा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरोकारवालासँग थप छलफलपछि अन्तिम नामावली सार्वजनिक गरिने उल्लेख गरिएको छ।
महानगरले साउन २ गते प्रकाशित गरेको प्रारम्भिक नामावलीमा ५ सय ७४ परिवार समेटिएका थिए। तीमध्ये २ सय ८६ परिवार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी, २ सय ३३ परिवार अव्यवस्थित बसोबासीका रूपमा वर्गीकृत गरिएका थिए भने ५५ परिवारको विवरण दोहोरो परेको वा मेल नखाएको भेटिएको थियो।
बसपार्क क्षेत्रमा वास्तविक सुकुम्बासीको पहिचान गर्न महानगरले जेठ १२ गते तीनवटा समिति गठन गरेको थियो। पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिले जग्गाको अवस्थाबारे प्रतिवेदन बुझाइसकेको छ भने वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगी नेतृत्वको समितिले वैकल्पिक जग्गा खोजीको जिम्मेवारी पाएको थियो। प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी नेतृत्वको सहजीकरण समितिले दाबी गर्ने परिवारहरूको छानबिन गरिरहेको छ।
पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमा १ सय ९६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। अतिक्रमणका कारण हाल १ सय ८७ रोपनी मात्र बाँकी रहेको र त्यसमध्ये २६ रोपनी क्षेत्र मात्रै महानगरको पूर्ण नियन्त्रणमा रहेको जनाइएको छ।
महानगरले बसपार्कको उत्तर र पश्चिमतर्फका ५ सय २० संरचना हटाइसकेको भए पनि मुख्य बस्तीका सुकुम्बासीले वैकल्पिक व्यवस्थाबिनै स्थान नछाड्ने अडान लिँदै अदालतबाट अन्तरिम आदेशसमेत ल्याएका छन्।
अब साउन २२ गते सार्वजनिक हुने अन्तिम नामावलीले बसपार्क व्यवस्थापन र दीर्घकालीन समाधान प्रक्रियामा महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
