
काठमाडौं। इरानसँगको पाँच महिना लामो युद्धपछि उन्नत हतियार र क्षेप्यास्त्र इन्टरसेप्टरको भण्डार ह्वात्तै घटेपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगहरूलाई हतियार उत्पादन तीव्र पार्न निर्देशन दिएको छ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलका अनुसार मन्त्रालयले अमेरिकी सैनिकका लागि आवश्यक गोलाबारुद खरिद र सैन्य आधुनिकीकरणको प्रक्रियालाई तीव्र बनाएको छ। उपरक्षामन्त्री स्टिभ फेनबर्गले रक्षा ठेकेदारहरूलाई पत्र पठाउँदै उत्पादन क्षमता विस्तार गर्न र २१ दिनभित्र आक्रामक उत्पादन योजना पेस गर्न कडा निर्देशन दिएका छन्।
अमेरिकी थिंक ट्यांक ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को प्रतिवेदनअनुसार युद्धका कारण अमेरिकाको पेट्रियट इन्टरसेप्टर भण्डारमा ६५ प्रतिशत र थाड इन्टरसेप्टरमा ३८ प्रतिशतसम्म कमी आएको छ। इन्टरसेप्टरको अभावले अमेरिका र उसका मध्यपूर्वी सहयोगी राष्ट्रहरूको सुरक्षा जोखिम बढाउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
पूर्वमरिन कर्नेल मार्क क्यान्सियनका अनुसार भण्डार रित्तिँदै जाँदा इरानी क्षेप्यास्त्र र ड्रोनहरूले लक्ष्यमा सिधै प्रहार गर्ने खतरा उच्च छ। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार अभावको खबरलाई अस्वीकार गरेका छन्। उनले ‘ट्रुथ सोसल’ मार्फत अमेरिकासँग विशाल हतियार भण्डार रहेको र उत्पादन तीव्र गतिमा भइरहेको दाबी गरेका छन्।
ह्वाइट हाउसले रक्षा बजेट ९०० अर्ब डलरबाट बढाएर १.५ ट्रिलियन डलर पुर्याउने प्रस्ताव गरे पनि कंग्रेसमा भने सांसदहरूले इरानविरुद्ध ट्रम्पको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाउँदै बजेट विधेयक रोकेका छन्।
हतियार उत्पादनका लागि लकहिड मार्टिन र नर्थरोप ग्रुम्मानजस्ता कम्पनीहरूसँग नयाँ सम्झौता भए पनि मौज्दात पूर्ववत् अवस्थामा फर्काउन कम्तीमा तीन वर्ष लाग्ने विज्ञहरूको भनाइ छ।
