काहुँखोलादेखि विजयपुर पोखरी गाउँसम्म हाइकिङ, प्रकृति र पर्यटनसँग जोडिँदै हाइकर्स क्लब

Share:

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा नियमित हाइकिङ कार्यक्रमको ७३ औँ शृङ्खला सम्पन्न भएको छ। ५० भन्दा बढी सहभागी रहेको उक्त पदयात्रा पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोलाबाट सुरु भई आर्वा गाउँ र महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँ पुगेर सम्पन्न भएको हो।

पदयात्राका क्रममा सहभागीहरूले आर्वा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्त्वका स्थलहरूको अवलोकन गरेका थिए। हाइकिङ रुट सहजीकरण स्थानीय युवाहरू केदार बराल, माधव बराल र मोती विकले गरेका थिए भने विजयपुरमा चण्डेश्वरी तमु आमा समूहकी अध्यक्ष धनकुमारी गुरुङसहित स्थानीयले हाइकर्स समूहलाई स्वागत गरेका थिए।

सो अवसरमा आमा समूहकी अध्यक्ष गुरुङले महानगरभित्र परे पनि विजयपुर गाउँमा नियमित बस सेवा नहुँदा सास्ती भोग्नुपरेको उल्लेख गर्दै सामुदायिक वनको पहिरोले अवरुद्ध बाटो खुलाउन र सडक फराकिलो बनाउन माग गरिन्। महाप्रभुधाम विकास समितिका अध्यक्ष नुमराज बरालले निर्माणाधीन धामका बारेमा जानकारी गराएका थिए।

शारीरिक व्यायामसँगै पर्यटन प्रवर्द्धन, प्रकृतिप्रेम र भाइचारा अभिवृद्धिका लागि नियमित हाइकिङ आयोजना गरिँदै आएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए। यस्ता पदयात्राले आन्तरिक पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैलीमा योगदान पुर्‍याउने पोखरा विश्वविद्यालयका प्राध्यापक युवराज त्रिपाठीको भनाइ थियो।

विगत ७ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार पदयात्रा सञ्चालन गर्दै आएको क्लबले आगामी दिनमा पनि आसपासका नयाँ पदमार्गको पहिचान र प्रवर्द्धनलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: