पोखरा महानगरका ठूला विकास आयोजना तीव्र पारिने, भदौ पहिलो साताभित्रै टेण्डर आह्‍वान गरिने

Share:

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन्। विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो साताभित्र टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक (एडीबी), कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू कार्यान्वयनको चरणमा छन्। एडीबीका आयोजनाका लागि आलुमैला चोक र कोइकाका लागि शिवालय चोकमा परियोजना कार्यालयहरू सञ्चालनमा आइसकेका छन्।

यस्तै नगर विकास कोष (टिडीएफ) को साझेदारीमा पोखरा सभागृहको मर्मत सम्भार (रिनोभेसन) प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पोखराको मुख्य चुनौतीका रूपमा रहेको फोहोरमैला प्रशोधन केन्द्रको निर्माण कार्य प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को चरणमा पुगेको र निर्माणको जिम्मेवारी पाएको टेरासोल कम्पनीले छिट्टै सिभिल निर्माण सुरु गर्ने जनाएको छ।

उता पृथ्वीचोक, विन्ध्यवासिनी र लामेआहालस्थित बसपार्कहरूको स्तरोन्नतिका लागि एडीबीका परामर्शदाताले स्थलगत सर्वेक्षण गरिरहेका छन्। बसपार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र निर्माण अघि बढाइने मेयर आचार्यले स्पष्ट पारे।

अतिक्रमण नियन्त्रणतर्फ महानगरले सख्त कदम चाल्ने भएको छ । भदौ १५ गतेसम्म संरचना नहटाए महानगर आफैँले हटाउने र असोज १ गतेदेखि डिपिआर प्रक्रिया अघि बढाउने जनाएको छ।

असोज महिनालाई ‘सार्वजनिक जग्गा संरक्षण अभियान’का रूपमा मनाउँदै अतिक्रमण हटाइनेछ। यसैगरी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यसै आर्थिक वर्षभित्र २० हजार १०६ जनालाई लालपुर्जा वितरण गर्ने लक्ष्यका साथ प्रमाणीकरणको काम भइरहेको महानगरले जनाएको छ।

मेयर आचार्यले कुनै पनि राजनीतिक प्रभावमा नपरी कानुनी मापदण्डअनुसार नै सबै विकास निर्माण र व्यवस्थापनका कार्यहरू सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: