
पोखरा । रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरण गर्दै पोखरामा दुई जना पत्रकार सम्मानित भएका छन्। नेपाल मगर पत्रकार संघ, कास्कीको आयोजनामा पोखरा महानगरपालिका-२१ ठूलीस्वाँरामा सम्पन्न ‘३२ औँ मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम’ मा पत्रकारद्वय मीनाकुमारी थापामगर र मनधन थापामगरलाई सम्मान गरिएको हो।
सम्मानित दुवै पत्रकारले पोखरामा रहेर मगर भाषामा समाचार वाचन तथा कार्यक्रम सञ्चालन गर्दै आएका थिए। हाल मीना पोखरामा र मनधन बेलायतमा रहेर पत्रकारितामा निरन्तर सक्रिय छन्। उनीहरूलाई गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगर, उपमहासचिव रुद्रबहादुर श्रीषमगर, नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आलेमगरलगायतले सम्मानपत्र, माला र खादा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजकुमारी भुजेलले नेपालका आदिवासी जनजाति संस्कार र संस्कृतिमा धनी रहेको उल्लेख गर्दै भाषा र संस्कृति हराएमा पहिचान नै संकटमा पर्ने बताइन्। उनले नयाँ पुस्तालाई आफ्नो रीतिरिवाज र संस्कृतिको ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भाषा जोगाउने दायित्व सम्पूर्ण समुदायको भएको धारणा राखिन्। साथै, उनले पोखरा-२१ को विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
सम्मानित व्यक्तित्व मीनाकूमारी थापामगरले यो सम्मानले मगर भाषा र संस्कृतिको संरक्षणमा थप योगदान पुर्याउन प्रोत्साहन मिलेको बताइन्। कार्यक्रममा पोखरा-२१ का वडा सदस्य कृष्णबहादुर रानामगरले मगर समुदाय आफ्नै कार्यक्रमहरूमा उदासीन हुनु दुःखद भएको भन्दै जनसंख्याका आधारमा तेस्रो ठूलो समुदाय भएर पनि पर्वहरूमा सरकारी बिदा नदिइएकोमा ध्यानाकर्षण गराए।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरको अध्यक्षता र सदस्य गीता रानामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, ठूलीस्वाँरा उज्ज्वल आमा समूहकी अध्यक्ष रोशनी रानामगर र टोल विकास समितिका अध्यक्ष नरबहादुर रानामगरलगायतका वक्ताहरूले मातृभाषाको संरक्षणमा जोड दिएका थिए।
वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक मगरलगायत ८ वटा मातृभाषामा समाचार प्रसारण सुरु भएको थियो। सोही दिनको सम्झनामा मगर पत्रकार संघ कास्कीले बर्सेनि यो सम्मान प्रदान गर्दै आएको छ। यसअघि पत्रकारद्वय हर्क आलेमगर र खेम सारुमगर सो सम्मानबाट सम्मानित भइसकेका छन्।
