
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनका लागि खुल्ला सदस्य पदका १० जना आकांक्षी उमेदवारहरू एकजुट भएर जाने भएका छन्। संघको विधान अनुसार खुलातर्फ १० जना कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था रहेकोमा इच्छुक उमेदवारहरूबीच छलफल गरी अध्यक्ष तथा पदाधिकारीको साझा सदस्य उमेदवारका रूपमा अघि बढ्ने भद्र सहमति भएको हो।
सदस्य पदका उमेदवारहरू अमृत पोखरेल, सुर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नविन नापित, मनोहरी पौडेल, राम कँडेल, दुधमान गुरुङ (आशिष), कमल बहादुर सुनार, एक नारायण गौतम र भानुभक्त अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै पोखरेली उद्योगी व्यवसायीहरूको चाहना अनुसार साझा उमेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
विज्ञप्तिमा केवल निर्वाचन जित्ने उद्देश्य मात्र नभई संघलाई अझ बलियो, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, साझा घोषणापत्र र एउटै एजेन्डासहित सदस्यहरूसँग भेटघाट गर्ने र निर्वाचन पछि पनि सहकार्यलाई निरन्तरता दिने निर्णय उनीहरूले गरेका छन्।
संघको निर्वाचन तालिका अनुसार भदौ ५ गते मनोनयन पत्र वितरण, भदौ ८ गते मनोनयन दर्ता र सोही दिन नामावली प्रकाशन हुने कार्यक्रम रहेको छ भने महाधिवेशन भदौ २० र २१ गते सम्पन्न हुनेछ। २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापित पोखराको यस जेठो सामाजिक संस्थामा हाल २ हजार ७ सय ३१ जना सदस्यहरू आबद्ध रहेका छन्।

