पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदका लागि ४ जना आकांक्षी

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने अधिवेशनका लागि अध्यक्ष पदमा चार जनाले आकांक्षा व्यक्त गरेका छन् ।शुक्रबार उम्मेदवारीका लागि मनोनयन पत्र लिने तोकिएको अपराह्न ५ बजेसम्मको समयमा अध्यक्ष पदका लागि चार जनाले मनोनयन पत्र बुझेका हुन्। निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार मनोनयन पत्र लिनेहरूमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम र यसअघि अध्यक्ष पदमा दुईपटक पराजित भइसकेका अर्जुन पोखरेल रहेका छन्।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला र कार्यसमिति सदस्य टीकाराम सुवेदीले मनोनयन पत्र बुझेका छन्। उद्योगतर्फको उपाध्यक्षका लागि वर्तमान कार्यसमिति सदस्यद्वय सौगात थापा र ललितबहादुर कुवँरले मनोनयन लगेका छन् भने वाणिज्यतर्फको उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र कार्यसमिति सदस्य भीम गौतम मैदानमा देखिएका छन्।

महासचिव पदका लागि वर्तमान उप-महासचिव सुदीप प्रधानांग र पूर्वपराजित उम्मेदवार तारानाथ ढुंगानाले मनोनयन पत्र लगेका छन्। यसैगरी, कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्यद्वय देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठ तथा उप-महासचिवमा वर्तमान कार्यसमिति सदस्यहरू यादवप्रसाद पोखरेल, रामचन्द्र तिमिल्सिना र प्रदीप राजभण्डारीले मनोनयन पत्र बुझेका छन्।

खुला सदस्यतर्फ गोविन्दबहादुर केसी, मनोहरि पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलिपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारी गरी १४ जनाले मनोनयन लिएका छन्।

वस्तुगत चार सदस्यका लागि लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरु तथा उद्योगतर्फको एक सदस्यका लागि पीताम्बर अधिकारीले मात्र मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ। विधान र कार्यविधि अनुसार मनोनयन पत्रको शुल्क अध्यक्षका लागि १ लाख ५० हजार रुपैयाँ अन्य पदाधिकारीका लागि १ लाख रुपैयाँ र सदस्यका लागि २५ हजार तोकिएको छ ।

शुक्रबार वितरण गरिएको मनोनयन पत्र भदौ ८ गते सोमबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्ममा बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको निर्वाचन समितिका संयोजक अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: