
पोखरा । भोटेकोशीमा बुधबार आएको बाढीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा ल्याइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।
प्रदेश अस्पताल गोरखाको शवगृहमा ठाउँको अभाव भएपछि पोखरा पठाइएको उनले जानकारी दिए । अस्पतालको शवगृहमा २३ वटा शवहरु राखिएकोमा ११ वटा पोखरा पठाइएको त्यहाँका मेडिकल सुपरिटेन्डेण्ट सम्भु अधिकारीले जानकारी दिए । गोरखाबाट सग्ला शवहरु मात्र पोखरा पठाइएको उनले बताए ।
‘हाम्रो शवगृहको क्षमता जम्मा दुईवटा हो, त्यहाँ भित्र इनडोर एसी लगाएर राख्दा ६/७ वटा शवहरु व्यवस्थापन गरेर राख्न मिल्थ्यो’, मेसु अधिकारीले भने, ‘हाम्रो क्षमताले नभ्याउने भएपछि सग्ला शवहरुलाई पोखरा पठाएर शरीरका अंगहरु मात्र यहाँ राखेका छौँ । थप शवहरु आउने क्रममा नै छन् । ती मध्य सग्ला पोखरा पठाउँछौँ, शरीरका अंगहरु भने यहीँ व्यवस्थापन गरेर राख्छौँ ।’
व्यवस्थित शवगृह नहुँदा शवहरु बिग्रने, गन्हाउने र रोगहरु फैलने हुँदा सग्ला शवहरु पोखरा पठाइएको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेण्ट सम्भु अधिकारीले बताएका छन् । ‘कम्तीमा पहिचान खुल्ने सग्ला शवहरु नबिग्रिउन् भनेर पोखरा पठाएका छौँ । शरीरका अंगहरु मात्र फेला परेको हकमा डिएनए परीक्षण गर्न सकिन्छ’, उनले भने ।
