
पोखरा । मगर भाषा प्रतिष्ठान कास्कीको १५ औं स्थापना दिवस शुक्रबार आजीवन सदस्यता वितरण तथा विविध विचार-गोष्ठीका साथ मनाइएको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आलेमगरले नयाँ पुस्तामा भाषा हस्तान्तरण नभए मगर भाषा लोप हुने खतरा औंल्याए ।
उनले प्रौढ र बालबालिकालाई फरक तरिकाले मगर भाषा सिकाउने अभियान चलाउनुपर्ने र यसलाई पठनपाठन तथा कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए । साथै, नेपाल मगर संघले सन् २०८७ सम्मलाई मगर भाषा जागरण वर्षका रूपमा घोषणा गरेकाले देशव्यापी रूपमा मगर भाषा शिक्षण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले व्यक्त गरे।
कार्यक्रममा मगर भाषा प्रतिष्ठानकी केन्द्रीय सदस्य फुलकुमारी थापामगर र नेपाल मगर संघ गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापामगरले संघ-संस्थाका हरेक कार्यक्रम सञ्चालन तथा भाषणमा मगर भाषाको प्रयोग गर्ने बानी बसाले मात्र भाषाको जगेर्ना हुनसक्ने बताइन् ।
त्यस्तै, लेखक समीप वैरागी, अनुसन्धाता मनोज घर्तीमगर, यामबहादुर थापामगर, क्या. नरेश थापामगर, जीवनकुमार थापामगर र कृष्णकुमारी थापामगरलगायतका वक्ताहरूले भाषा संरक्षणका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
प्रतिष्ठानका अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षता, उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरको स्वागत र सचिव मीना थापामगरको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमका बीच २३ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो।
यसैबीच, प्रतिष्ठानले भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्तरिक रूपमा संकलन गरिएको १२ हजार ३ सय २५ रुपैयाँ राहत रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ।
