
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनको अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उद्योगी-व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पोखराको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष पदकी उम्मेदवार शोभा गौतमले आफूले संघमा अहिलेसम्म सम्हालेका हरेक पदलाई पदका रूपमा नभई सेवाको अवसरका रूपमा लिएको बताउँदै अब नेतृत्वको जिम्मेवारी पाए उद्योगी-व्यवसायीको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले आश्वासनभन्दा परिणाम दिने आफ्नो प्राथमिकता रहेको बताउँदै आफ्नो टिमलाई नै विजयी गराउन आग्रह गरिन् । २६ वर्षअघि संघकै अगाडि रहेको सानो चियापसलबाट व्यवसायिक यात्रा सुरु गरेको स्मरण गर्दै गौतमले संघर्ष, चुनौती र असफलताबाट सिक्दै आज अध्यक्ष पदको उम्मेदवारसम्म आइपुगेको बताइन् ।
२६ वर्षको व्यवसायिक अनुभवसँगै पोखरा उद्योग वाणिज्य संघमा प्राप्त संस्थागत अनुभवलाई आत्मसात गर्दै आफू निर्वाचनमा होमिएको उनको भनाइ थियो । उनले आफूलाई महिला व्यवसायी दिदीबहिनीहरूको प्रतिनिधिका रूपमा समेत उभ्याएको बताइन् ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले संघको कार्यसमितिमा दुई कार्यकाल काम गरेको अनुभवलाई अब नेतृत्वमा उपयोग गर्ने बताए ।
माछापुच्छ्रे ट्रेड लिंक एण्ड सप्लायर्सका सञ्चालकसमेत रहेका सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा गुणस्तरीय पर्यटन भित्र्याउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
कृषि र पर्यटनलाई जोडेर अघि बढ्न सके आर्थिक समृद्धिको आधार बलियो हुने उनको धारणा थियो । उनले टिममा एकताबद्ध भएर संघको साख जोगाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पु¥याउने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताए ।
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा समेत प्रत्यक्ष संलग्न छन् । व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले दैनिक रूपमा भोग्ने समस्या, चुनौती र अवसरलाई नजिकबाट अनुभव गरेको बताउँदै थापाले युवालाई व्यवसायमा आउन प्रोत्साहन गर्नुका साथै नेतृत्व र नीति निर्माणमा समेत जोड्नुपर्ने बताए ।
“आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्छ,” भन्दै उनले प्रविधिको प्रयोग, नयाँ व्यवसाय र नयाँ बजार खोज्ने युवाको क्षमतालाई संघले अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यवसायीको अप्ठ्यारोमा हिजो पनि साथमा रहेको र आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाए । युनिक लेडिज फेसनका सञ्चालक गौतमले घरबेटीका कारण समस्यामा परेका व्यवसायीको आवाज बन्ने र साना तथा मझौला व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने बताए ।
वर्तमान कार्यसमितिमा रहेर प्राप्त अनुभवलाई आगामी कार्यकालमा उपयोग गर्ने उनको भनाइ थियो ।
महासचिव पदका उम्मेदवार तारानाथ ढुंगानाले व्यवसायलाई व्यक्तिगत पेशाका रूपमा मात्र नभई रोजगारी, राजश्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए ।
तारा सुमन सप्लायर्सका सञ्चालक ढुंगानाले व्यवसायीको समस्या साझा समस्या भएकाले त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने प्रतिबद्धता जनाए । महासचिवको जिम्मेवारी व्यवसायीको आवाज सम्बन्धित निकायसम्म पु¥याउने महत्वपूर्ण भूमिका भएको उनको भनाइ थियो ।
कोषाध्यक्ष पदका उम्मेदवार जीवन प्रकाश श्रेष्ठले संघको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक कारोबारलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाए । जीवन सोफा कभर एण्ड डेकोरेशन सिस्टमका सञ्चालक श्रेष्ठ यसअघि खुला सदस्यमा निर्वाचित भई काम गरिसकेका छन् ।
संघको साख जोगाउँदै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सक्रिय भएर काम गर्ने उनले बताए ।
त्यस्तै, उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेलले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
नविन फेन्सी स्टोर्सका सञ्चालक पोखरेलले सीप, प्रविधि, लगानी र बजारलाई उद्यमशीलतासँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे । व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायसँग साझेदारी र समन्वय गर्ने तथा बैंकबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता थियो ।
उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलका उम्मेदवारहरूले व्यवसायीको समस्या सुन्ने मात्र नभई समाधानका लागि पहल गर्ने, युवा र नयाँ पुस्तालाई व्यवसायमा जोड्ने, संघको संस्थागत साख र आर्थिक पारदर्शिता कायम गर्ने तथा पोखराको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने विषयलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेका थिए ।
भदौ २० र २१ गते हुने संघको महाधिवेशनमा गौतम नेतृत्वको प्यानलले आफूलाई अनुभव, नयाँ ऊर्जा र परिणाममुखी कार्यको संयोजनसहितको टिमका रूपमा प्रस्तुत गर्दै उद्योगी-व्यवसायीको मत र समर्थन मागेको छ ।
