एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढीप्रभावित क्षेत्रमा राहत वितरण जारी

Share:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि सञ्चालन गरिरहेको राहत अभियानलाई तेस्रो दिन पनि निरन्तरता दिएको छ। संघका पदाधिकारी तथा स्वयंसेवकहरूको टोलीले प्रभावित क्षेत्रमै पुगेर तत्काल आवश्यक राहत सामग्री वितरणका साथै मानवीय सहयोगलाई तीव्रता दिएको हो।

यसै क्रममा एनआरएनए चाइनाको सहयोगमा भदौ १३ गते रसुवाका गोसाइँकुण्ड, उत्तरगया र कालिका गाउँपालिकामा अस्थायी आश्रय लिएर बसेका करिब ४०० जना बालबालिकाका लागि ३ हजार थान कपडा तथा ५० थान सोलार लाइट वितरण गरिएको छ।

एनआरएनए चाइनाका उपाध्यक्ष प्रदीप नेपालको नेतृत्वमा खटिएको टोलीले उक्त सामग्री हस्तान्तरण गरेको हो। यसअघि संघले नुवाकोटमा रु. ५० लाख बराबरको राहत सामग्री उपलब्ध गराइसकेको छ।

राहत सामग्री वितरणका साथै संघले प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गरी आगामी रणनीतिक योजनासमेत तयार पारेको छ। टोलीले रसुवाका थुमन, उत्तरगया र गोसाइँकुण्डका साथै नुवाकोटका आँखुटार, त्रिशूली बजार र शोले क्षेत्रका स्थानीयहरूसँग भेटघाट गरी उनीहरूको तत्कालीन र दीर्घकालीन आवश्यकता पहिचान गरेको छ।

यस्तै, बाढीका कारण विस्थापित भई काठमाडौं पुगेका नागरिकहरूको अवस्था र समस्याबारे पनि जानकारी लिइएको छ। प्रवक्ता सोमनाथ सापकोटाका अनुसार राहत अभियानका लागि हालसम्म रु. ४ करोड ८२ लाख ७४ हजार ७५ रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ।

संकलित रकम पारदर्शी रूपमा सार्वजनिक गर्दै राहत तथा मानवीय सहायतापछि बचेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संघले जनाएको छ। खाद्य र आवाससँगै एनआरएनएले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेको छ।

जसअनुसार भोलि (भदौ १४ गते) डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली नुवाकोट प्रस्थान गर्दैछ। उक्त टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक चिकित्सकीय सेवा र औषधि उपलब्ध गराउनेछ।

गम्भीर बिरामी परेका वा थप उपचार आवश्यक पर्ने व्यक्तिहरूलाई भने सुविधासम्पन्न स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाइएको संघले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: