रेवान पोखराद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट साढे सात सय जना लाभान्वित

Share:

पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५० जना सर्वसाधारणले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।

हरेक दुई वर्षको अन्तरालमा सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिने उक्त शिविर यसपटक पोखरा-२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा आइतबार सम्पन्न भएको हो।

नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा र सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटीका साथै प्रयोगशाला, ईसीजी र भिडियो एक्स-रे सेवा निःशुल्क उपलब्ध गराइएको थियो।

कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं २३ कार्यालय, सिद्ध बराह उमावि, क्लिनिक नेपाल, रेनाभा हस्पिटल, युनाइटेड रेफेरेन्स ल्याब्रोटोरी (युआरएल) तथा भरतपुर महानगरपालिका-२७ मेघौलीले विशेष सहयोग गरेका थिए।

कार्यक्रम संयोजक एवम् रेवानका सचिव भिष्मराज पौडेलका अनुसार सो अवसरमा सहयोगी संस्थाहरूलाई सम्मान-पत्र प्रदान गरिएको थियो।पोखरा-२३ का वडाध्यक्ष रामकाजी गुरुङ्गले वडावासीको व्यापक सहभागिताका लागि विभिन्न समिति र उपसमिति गठन गरी प्रचार-प्रसार गरिएको जानकारी दिए।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले आगामी वर्षहरूमा पनि सबै क्षेत्रको सहयोग पाएमा यस्ता परोपकारी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

महासचिव बिरेन्द्र शेरचनद्वारा सञ्चालित कार्यक्रममा पूर्व अध्यक्षद्वय गणेशबहादुर भट्टराई र गोपीबहादुर भट्टराईले पोखरा-२३ र २४ पर्यटकीय, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको औंल्याउँदै ती क्षेत्रको समग्र पर्यटन विकासमा रेवानले सहकार्य गर्ने स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
Share: