
पोखरा । मध्य पहाडी भागमा बाढीपहिरोबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःखी हुँदै पोखरा वृद्धाश्रमका आमाहरूले आफ्नो एक महिनाको खानाको लागतबाट हुन आउने १ लाख ११ हजार १११ प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गरेका छन्।
वृद्धाश्रमको वार्षिक साधारणसभामा अध्यक्ष केशव पराजुलीले सो घोषणा गरेका हुन्। मानवीय क्षतिलाई मध्यनजर गर्दै सरकारले प्रमाणित गरेमा प्रभावित ५ वटा परिवारलाई आवास र खानाको प्रबन्ध वृद्धाश्रमले गर्ने निर्णयसमेत सभाले गरेको छ।
सचिव धर्मबहादुर गुरुङले यो विपद्को घडीमा गरिएको मानवीय सहयोगमा कुनै पनि किसिमको राजनीति गर्न नहुने र राहतका नाममा राजनीतिक दलको झण्डा वा लोगो राखेर वितरण गर्नु महापाप हुने साधारणसभाका सहभा
गीहरूको निचोड रहेको जानकारी दिए। कोषाध्यक्ष पार्वती थापा कार्कीले वृद्धाश्रमको कार्यसमिति, उपसमिति, सदस्यहरू र कर्मचारीहरूको तर्फबाट आर्थिक सहयोगसँगै करिब ५० हजार रुपैयाँ बराबरको जिन्सी सामग्री संकलन गरी राहत कोषमा जम्मा गरिएको बताइन्।
साधारणसभामा बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गण्डकी प्रदेशभित्रका असहाय र बेवारिसे ज्येष्ठ नागरिकहरूको पालनपोषण तथा हेरचाह वृद्धाश्रमले गर्ने घोषणा गरिएको छ। यस किसिमको मानवीय कार्यमा स्थानीय सरकार र समुदायले भूमिका निर्वाह गर्न अपिल गरिएको छ।
कार्यक्रममा पूर्वसामाजिक विकास मन्त्री विन्दुकुमार थापा, चन्द्र गिरी, रमा रोकालगायतले मन्तव्य व्यक्त गरेका थिए। सोही अवसरमा उत्कृष्ट सामाजिक उत्तरदायित्व बहन गर्ने सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, विक्रम भण्डारी, लोकराज कोइराला र नेत्र भण्डारीलाई प्रदेश सभा सदस्य भीमबहादुरले दोसल्ला ओढाएर कदरपत्रद्वारा सम्मानित गरेका थिए।
