
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले आफ्नो तीन दशक लामो व्यवसायिक अनुभवलाई उद्योगी व्यवसायीको संरक्षण, प्रवर्द्धन र व्यवसायिक वातावरण सुधारमा उपयोग गर्ने बताएका छन् ।
अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुवेदीले लामो व्यवसायिक यात्राका क्रममा उद्योगी व्यवसायीले भोग्दै आएका चुनौती र सम्भावनालाई नजिकबाट बुझेको भन्दै आगामी दिनमा व्यवसायीको हितमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाए ।
“मेरो ३० वर्ष लामो व्यवसायिक अनुभवमा उद्योगी व्यवसायीलाई कसरी संरक्षण र प्रवर्द्धन गर्ने भन्ने विषयमा धेरै कुरा सिकेको छु,” सुवेदीले भने, “त्यही अनुभवलाई संघमार्फत व्यवसायीको हितमा प्रयोग गर्दै व्यवसाय गर्न सहज वातावरण निर्माणका लागि पहलकदमी लिनेछु ।”
सुवेदीले पोखरालाई व्यवसायिक हबका रूपमा विकास गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारको सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । त्यसका लागि चीनसँगको व्यापारिक नाका कोरला महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ ।
उनका अनुसार कोरला नाकाको चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भइसकेको भए पनि नेपालतर्फ भने अझै पर्याप्त पूर्वाधार तयार हुन सकेको छैन । नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर संघले सम्बन्धित निकायसँग पहल गर्नुपर्ने उनले बताए ।
“कोरला नाकाको चीनतर्फ सम्पूर्ण पूर्वाधार तयार भइसकेको अवस्था छ, तर हाम्रोतर्फ आवश्यक पूर्वाधार अझै तयार हुन सकेको छैन,” उनले भने, “नेपालतर्फ पनि आवश्यक भवन तथा पूर्वाधार निर्माण गर्न सके यसले व्यापार विस्तारसँगै पोखरालाई व्यवसायिक हबका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।”
कोरला नाकासँग जोडिने व्यापारिक गतिविधिलाई पोखरासम्म विस्तार गर्न सके स्थानीय उत्पादन, पर्यटन, उद्योग तथा व्यवसायले समेत लाभ लिन सक्ने सुवेदीको भनाइ छ । यसका लागि सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए ।
“पोखराको व्यवसायिक सम्भावना ठूलो छ । अब त्यसलाई क्षेत्रीय बजारसँग जोड्ने पूर्वाधार र वातावरण निर्माण गर्नुपर्छ,” सुवेदीले भने, “यस विषयमा संघले सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल अघि बढाउनेछ ।”
माछापुच्छ्रे ट्रेड लिंक एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका सुवेदी पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई कार्यकाल काम गरिसकेका छन् । संघमा रहँदा प्राप्त संस्थागत अनुभवलाई आगामी नेतृत्वमा उपयोग गर्दै उद्योगी व्यवसायीका साझा सवाललाई प्रभावकारी रूपमा अघि बढाउने उनले बताए ।
सुवेदीले अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टिमले अनुभव र नयाँ ऊर्जालाई संयोजन गर्दै व्यवसायीको हित तथा पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । भदौ २० र २१ गते हुने संघको महाधिवेशनमा सुवेदीले उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धनसँगै पोखरालाई क्षेत्रीय व्यापारिक केन्द्रका रूपमा विकास गर्ने पूर्वाधार निर्माणका विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
