पोखरामा हुने मिडिया कप फुटसलको इन्स्योरेन्स पार्टनरमा ‘सलिको’

Share:

पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा ‘गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ। प्रतियोगितालाई स्वस्थ र सुरक्षित बनाउने उद्देश्यका साथ यसको इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) जोडिएको छ।

सलिकोका पोखरा प्रमुख राजेश केसी र कल्पका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता अनुसार खेलका दौरान सहभागी प्रत्येक खेलाडीको बीमा गरिनेछ। कम्पनीले सुरुवाती दिनदेखि नै विभिन्न खेलकुदमा सहकार्य गर्दै आएको स्मरण गराउँदै प्रमुख केसीले प्रतियोगिताको सफलताको कामना गरे भने कल्पका अध्यक्ष श्रेष्ठले खेलाडीको बीमा सुरक्षा प्रदान गरेकोमा सलिकोप्रति आभार व्यक्त गरे ।

प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको र अन्य संघसंस्थासँग पनि साझेदारीका काम भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन्।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ लाई १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसका साथै सहभागी जिल्लाहरूलाई मायाको चिनो र प्रमाणपत्र समेत दिइनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाएर टिम दर्ता गरिसक्नुपर्नेछ। सहभागी हुने खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघको परिचयपत्रको प्रतिलिपि अनिवार्य उपलब्ध गराउनुपर्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: