पोउवा संघको चुनाव: ८ स्वतन्त्र सदस्य उम्मेदवारलाई व्यवसायीको बलियो समर्थन

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूलाई व्यवसायी मतदाताहरूको बलियो समर्थन प्राप्त भएको छ।

कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका सदस्य उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन्।

पोखराका प्रमुख व्यापारिक केन्द्रहरू महेन्द्रपुल, नयाँबजार, न्यु रोड, बगर तथा लामाचौरलगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारीको स्वागत गरेका छन्।

व्यवसायीहरूले कुनै प्यानलमा नबाँधिई उम्मेदवार बनेकोमा धन्यवाद दिँदै आगामी अधिवेशनहरूमा पनि यसरी नै स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिन सुझाव दिएका छन्।

आठै जना उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, व्यावहारिक कर प्रणालीमा सुधार र सुस्ताएको बजारलाई चलायमान बनाउनेजस्ता साझा प्रतिबद्धतासहित मतदातासमक्ष मत मागिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: