बुद्व विशाल बजारका व्यवसायीद्वारा बाढीपीडितका लागि ६० लाख बराबरको लत्ताकपडा सहयोग

Share:

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखरा-४ को समन्वयमा पोखराका व्यवसायीहरूले रसुवाका बाढी तथा पहिरो प्रभावित नागरिकहरूका लागि करिब ६० लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गरेका छन्।

बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संकलन गरिएको उक्त कपडा पोखरा महानगरपालिकामार्फत प्रभावित क्षेत्र रसुवा पठाइने गरी महानगरलाई हस्तान्तरण गरिएको हो।

मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्को यस कठिन घडीमा राहत सामग्री जुटाइएको एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जानकारी दिए।

हस्तान्तरण गरिएको सामग्रीले पीडित परिवारलाई तत्काल राहत पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता विपद्का समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

यसअघि एसोसिएसनले प्रभावित नागरिकको अल्पकालीन व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ नगद आर्थिक सहयोगसमेत गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: