बाढीपीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा राहत सङ्कलन अभियान सुरु

Share:

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत सङ्कलन कार्यक्रम सुरु गरेको छ।

बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले प्राकृतिक विपद्‌का कारण समग्र नेपालीको मन रोएको उल्लेख गर्दै बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्र पार्न माग गरेकी छन्।

प्राकृतिक विपत्तिको यस कठिन घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले सङ्घले राहत अभियान थालेको हो।

यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकेको सङ्घले सञ्चालन गरेको यस अभियानको संयोजन द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गरिरहेका छन्।

कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका लागि अत्यावश्यक मानिने चामल, चिउरा, दाल, तेल जस्ता खाद्यान्नका साथै कपडा, कम्बल, पिउने पानी, स्यानिटरी र भाँडाकुँडा लगायतका जिन्सी सामग्री सङ्कलन गरिनेछ।

इच्छुक व्यक्ति तथा संघसंस्थाहरूले पोखरा-२९, भण्डारढिकस्थित लेखनाथ उद्योग वाणिज्य सङ्घको सचिवालयमा राहत सामग्री बुझाउन सक्ने व्यवस्था मिलाइएको छ।

सङ्कलित प्रत्येक सामग्री तथा नगद रकमको स्पष्ट अभिलेख राखेर सार्वजनिक गरिने र नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पूर्ण रूपमा पारदर्शी ढङ्गले पीडितसम्म पुर्‍याइने सङ्घले जनाएको छ।

अध्यक्ष पराजुली तथा संयोजक भट्टराईले सम्पूर्ण स्थानीय तह, संघसंस्था, निजी क्षेत्र र आम नागरिकहरूलाई यस उद्धार तथा राहत अभियानमा एकजुट भई सहयोग गर्न अपिल गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: