
पोखरा । ‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सुरु भएको छ।
महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि व्यवसायीहरूलाई मन फुकाएर सहयोग गर्न अपिल गरेका छन् ।
जलवायु परिवर्तनका कारण मुलुकले ठूलो संकट व्यहोरिरहेको उल्लेख गर्दै उनले महासंघको तर्फबाट विश्वका ७० वटा उद्योग वाणिज्य संघलाई सहयोगका लागि पत्राचार गरिएको र संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाको तर्फबाट बाढी प्रभावितलाई २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका साथै संघका उत्कृष्ट कर्मचारीहरू सुनील क्षेत्री, वासुदेव मिश्र र टीकाराम सुवेदीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल लगायतका वक्ताहरूले लगानी सुरक्षा, पर्यटन प्रवद्र्धन र विपद् व्यवस्थापनमा जोड दिएको उक्त कार्यक्रमपछि आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।
अध्यक्ष पदका लागि बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल चुनावी मैदानमा छन् भने निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। विसं २०११ मा स्थापना भएको यस संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन्।
