लागूऔषधसहित पोखराबाट २ जना पक्राउ

Share:

पोखरा । पोखराबाट १५ सय एम्पुल लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भदौ १९ गते साँझ करिब ५ बजे पृथ्वीचोक क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतीय नम्बर प्लेटको UP 56 BC 5548 कारलाई नियन्त्रणमा लिएको थियो।

कारको ढोकाको भित्री भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल र नुरफिन ५०० एम्पुल गरी कुल १,५०० एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, महाराजगञ्ज पडारी बस्ने २४ वर्षीय आलम परवेज र सोही ठाउँका २१ वर्षीय हुसेन अन्सारी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: