
पोखरा । कल्प मिडिया मल्टिपर्पोज प्रालिको आयोजनामा पोखरा रंगशालाको मल्टिपर्पोज हलमा सञ्चालित ‘गण्डकी प्रदेशस्तरीय मिडिया फुटसल प्रतियोगिता- २०८३’ को फाइनलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकी र नेपाल पत्रकार महासंघ (एफएनजे) बागलुङ प्रवेश गरेका छन्। लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा दुवै टोलीले समान ७ अंक जोड्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
प्रतियोगितामा एनएसजेएफ गण्डकी र एफएनजे बागलुङ दुवैले आयोजक नयाँलिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेका थिए भने आपसी खेलमा बराबरी खेल्दै अंक बाँडेका थिए। फाइनल स्पर्धा शनिबार दिउँसो १ बजे हुनेछ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले पत्रकार र आबद्ध संस्थाहरूबीचको एकता तथा पेसागत सम्बन्ध सुधारमा खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै उनले आगामी बजेटमा खेलकुद र खेलकुद पत्रकारिता दुवै क्षेत्रलाई समेट्ने प्रतिबद्धता जनाए । आयोजक संस्थाका अध्यक्ष सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतियोगिताबाट सङ्कलित रकम भोटेकोशी बाढी प्रभावितहरूलाई राहतस्वरूप प्रदान गरिने जानकारी दिइयो।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार तथा म्यान अफ दि म्याचलाई १५ सय रुपैयाँ प्रदान गरिनेछ।
