गोपालधाममा नि:शुल्क रक्त परीक्षण शिविर, ११६ जना लाभान्वित

Share:

पोखरा । गोपाल सेवा केन्द्र (गोपालधाम) पोखरा-१८ मा शनिबार आयोजित नि:शुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब ‘युनाइटेड रेफरेन्स ल्याबोरेटरी’ (युआरएल) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा सहभागीहरूको मधुमेह (सुगर) तथा कलेजोसम्बन्धी नि:शुल्क जाँच गरिएको हो ।

कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगहरूबारे जानकारी गराएका थिए। उनले ग्यास्ट्रिक केवल खानपानका कारणले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने बताए। “ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ, सधैँ औषधि खाइरहँदा स्वास्थ्यलाई हानि पुग्छ,” डा. बरालले भने, “त्यसैले चिकित्सकको परामर्शमा मात्र औषधि खानुपर्छ र समय-समयमा स्वास्थ्य जाँच गराइरहनुपर्छ ।”

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले आयोजना गर्दै आएका नि:शुल्क शिविरहरू जनताको विश्वास र सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए । उनले युआरएल यस क्षेत्रको एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त ल्याब भएको र गुणस्तर तथा सेवामा पनि अग्रणी स्थानमा रहेको दाबी गरे ।।

गोपालधामका अध्यक्ष लक्ष्मीशरण पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव रामजीप्रसाद पराजुली र महासचिव कल्पना सुवेदीले पनि आ-आफ्नो धारणा राखे ।

वि.सं. २०७० मा स्थापना भएको युआरएलले स्थापनाकालदेखि नै विभिन्न संघ-संस्थाहरूसँगको सहकार्यमा नि:शुल्क शिविर सञ्चालन गर्दै आएको छ ।शनिबार पोखरामा सम्पन्न शिविर युआरएलको २ सय ३८ औँ शिविर हो । हाल युआरएलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका २४ वटा शाखाहरामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: