महासंघका अध्यक्ष अन्जन श्रेष्ठ भन्छन्- सरकार बन्द कोठाभित्र निर्णय गर्न खोज्दै छ

Share:

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले वर्तमान सरकारले निजी क्षेत्र तथा सरोकारवालाहरूसँग संवाद नगरी बन्द कोठाभित्र मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार पोखरामा आयोजित लेखनाथ उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सरकारसँग काम गर्ने जोस भए पनि अनुभवको कमीका कारण सही दिशा पहिल्याउन नसकेको टिप्पणी गरे ।

चालु आर्थिक वर्षको बजेट नराम्रो नभए पनि कार्यान्वयन पक्ष निकै फितलो रहेको उल्लेख गर्दै उनले तीन खम्बे अर्थनीतिको पुनरावलोकन गर्न र समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाएर खुला बजार अर्थतन्त्रतर्फ अघि बढ्न महासंघले सुझाव दिइसकेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले संस्थालाई उपेक्षा गरेर व्यक्तिविशेषसँग सल्लाह लिने गलत अभ्यास थालेको भन्दै आवश्यकता परे हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

यस्तै, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लगानीको वातावरण खस्किएको भन्दै उद्यमीहरूलाई सहुलियत दिन गाउँपालिकाले ‘भूमि बैंक’को अवधारणा ल्याएको जानकारी दिए ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले देशको अर्थतन्त्र सुस्ताएको र लघु उद्यमलाई सबल नबनाएसम्म ठूला उद्योग फस्टाउन नसक्ने धारणा राखे । संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: